npl.977 Nepal News Stream

GandakNews logo GandakNews

स्याङ्जा–२ मा खिमबहादुर थापाको प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषिसम्म प्राथमिकता

राम बहादुर रोकाहा 19 hours ago

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका खिमबहादुर थापाले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । उम्मेदवारका रूपमा थापाले सुशासन, पूर्वाधार र कृषिलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

उनले विद्यार्थी जीवनदेखि नै राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा सक्रिय रहँदै आएको उल्लेख गर्दै पछिल्ला वर्षहरूमा युवाले उठाएको सुशासनको मुद्दालाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने, सरकारी निकायमा हुने ढिलासुस्ती अन्त्य गर्ने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

कृषि तथा पशुपालनमार्फत स्वरोजगार सृजना गर्ने योजना पनि उनले अघि सारेका छन् । कालीगण्डकी, आँधीखोला, लुब्दिखोला, ज्याग्दीखोला, मिर्दिखोला, पाठखोला र बायँखोलालगायतका उर्वर फाँट तथा टार क्षेत्रको सदुपयोग गर्दै कृषकलाई व्यावसायिक बनाउने लक्ष्य उनले राखेका छन् । सहुलियत ऋण, प्राविधिक सहयोग र व्यवस्थित बजार व्यवस्थापनमार्फत कृषकको आम्दानी वृद्धि गर्ने योजना सार्वजनिक गरिएको छ ।

पूर्वाधारतर्फ उनले प्रत्येक पालिकामा व्यावसायिक शिक्षालाई प्रवर्द्धन गर्दै सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने, ‘एक निर्वाचन क्षेत्र–एक सुविधा सम्पन्न अस्पताल’ स्थापना गर्ने र ‘एक पालिका–एक उद्योग’ अवधारणा कार्यान्वयन गर्ने बताएका छन् । ग्रामीण कच्ची सडक स्तरोन्नति तथा कालोपत्रे, करिडोर तथा अन्तरपालिका–अन्तरजिल्ला सडक विस्तार, सिद्धार्थ राजमार्गको स्तरोन्नति र आँधीखोला हाईड्याम निर्माणजस्ता योजना पनि उनको प्राथमिकतामा छन् ।

धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै राम्दीदेखि देवघाटसम्म जल यातायात सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ । बहुजातीय तथा बहुसांस्कृतिक पहिचान रहेको क्षेत्रमा खस, आदिवासी जनजाति, दलित र अल्पसंख्यक समुदायको भाषा, भेषभूषा र परम्परा संरक्षणका लागि राष्ट्रिय स्तरमा समन्वय गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।

युवालाई लक्षित गर्दै प्रत्येक वडामा व्यायाम केन्द्र स्थापना र बहुउद्देश्यीय रंगशाला निर्माण गर्ने योजना सार्वजनिक गरिएको छ ।

दुग्ध विकास संस्थाको कार्यकारी र कालीगण्डकी गाउँपालिकाका पूर्व अध्यक्षका रूपमा काम गरिसकेका थापाले आफूलाई इमान्दार र जनमुखी प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै यसपटक विकास र सुशासनलाई मूर्त रूप दिने दाबी गरेका छन् ।

Read more news from GandakNews

Explore by Source or Category