npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले दलसामु भने- चुनाव गराउन आयोगले तयारी गरिसक्यो

Basudev Timalsina 2 days ago

काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोग आगामी फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गराउन पूर्णरुपमा तयार रहेको बताएका छन्।

प्रधानमन्त्री सुशीला कार्की, निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि र सरोकारवालाको उपस्थितिमा सोमबार सिंहदरबारमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले तोकिएको समयमा निर्वाचन गर्न आयोगले आवश्यक सबै तयारी पूरा गरिसकेको बताए।

‘सरकारले निर्वाचन मिति घोषणा भएको साढे तीन महिना बितिसकेको छ। अब हामीसँग अढाइ महिना मात्र बाँकी छ। आयोगले प्रक्रियागत सबैजसो काम सम्पन्न गरिसकेको छ,’ उनले भने।

भण्डारीले निर्वाचनको कुनै विकल्प नरहेको भन्दै चुनाव सफल बनाउनका लागि आवश्यक सहयोग गर्न सबैसँग आग्रह गरे।

उनले निर्वाचनका लागि कार्यविधि, निर्देशिका र आचारसंहिता तर्जुमा गरिसकेको जानकारी गराउँदै दलको सहमतिमा सरकारसँग समन्वय गरेर आचारसंहिता लागू गरिने बताए।

उनले उम्मेदवारी दर्तापछि सुरक्षासम्बन्धी नीति तत्काल परिमार्जन नगरे निर्वाचनको समयमा समस्या आउनसक्ने भन्दै समयमै तयारी गर्न आग्रह गरे।

‘उम्मेदवार, पुराना र नयाँ शक्तिबीचको द्वन्द्व तथा शक्ति सङ्घर्षका कारण कतिपय स्थानमा शान्त मानिएका क्षेत्र जोखिमयुक्त र जोखिम मानिएका क्षेत्र सामान्य हुनसक्ने सम्भावना छ। त्यसैले सोहीअनुसार सुरक्षा रणनीति अपनाउन आवश्यक छ,’ भण्डारीले भने।

उनले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको नाम पेस गर्ने मिति पछि सार्न नसकिने स्पष्ट पारे।

The post कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले दलसामु भने- चुनाव गराउन आयोगले तयारी गरिसक्यो appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category