npl.977 Nepal News Stream

Himal Press logo Himal Press

मधेशका मुख्यमन्त्री भन्छन् – प्रधानमन्त्रीमा काम गर्ने हुटहुटी रहेको पाएँ

Dhairya Kanta Dutta 4 hours ago

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रधानमन्त्री वालेन्द्र शाहमा काम गर्ने हुटहुटी रहेको आफूले पाएको बताएका छन्।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री शाह र प्रदेशका मुख्यमन्त्रीहरूबीच भएको भेटपछि यादवले यस्तो बताएका हुन्।

‘प्रधानमन्त्रीमा काम गर्ने इन्टेनसन रहेको मैले पाएँ,’ मुख्यमन्त्री यादवले हिमालप्रेससँग भने,‘कुरालाई अल्झाउनेभन्दा समाधान दिनुपर्छ भन्ने दृष्टिकोण प्रधानमन्त्रीको रहेछ।’

आफूहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले धैर्यतापूर्वक कुरा सुनेको उनले बताए। मुख्यमन्त्री यादवले दुई घन्टाका लागि भनिएको छलफल साढे दुई घन्टासम्म चलेको जानकारी दिए।

‘उहाँले धैर्यतापूर्वक सबैथोक सुन्नुभयो, बीचबीचमा प्रश्न पनि गर्नुभयो,’ मुख्यमन्त्री यादवले भने,‘नबुझेका कुरा दोहो¥याएर सोध्नुभयो। हामीले दिएका सुझावहरूलाई सकारात्मक ढंगबाट लिनुभएको छ। सकारात्मक ढंगबाट छलफल सकिएको छ।’

मुख्यमन्त्री यादवले प्रदेशलाई अधिकार सम्पन्न बनाउन प्रदेशमातहत प्रहरी र प्रशासन ल्याउन आवश्यक कानुन निर्माण गर्न प्रधानमन्त्री शाहलाई ध्यानाकर्षण गराएको बताए।

‘प्रहरी प्रशासन अझै प्रदेश मातहत आउन सकेको छैन, यसका लागि प्रहरी र निजामती ऐन संघीय सरकारले ल्याइदिएको छैन, यतातिर संघीय सरकारले ध्यान पु¥याउन आवश्यक छ,’ उनले भने।

मुख्यमन्त्री यादवका अनुसार प्रधानमन्त्री शाहले प्रहरी र निजामती ऐनका सम्बन्धमा तत्काल काम अगाडि बढाउन निर्देशन दिएका छन्। उनले भने,‘प्रधानमन्त्रीज्यूले आफ्नो टिमलाई टिपोट गर्न लगाएर तत्काल यस विषयमा काम गर्न निर्देशन दिनुभएको छ।’

आफूले प्रदेशको अनुदान कटौती र राजश्व बाँडफाँटमा विभेद नगर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको मुख्यमन्त्री यादवले बताए। छलफलका क्रममा पछिल्लो समय भारतीय नाकामा सर्वसधारणलाई देखिएको समस्याबारे समेत कुरा उठेको थियो।

सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने प्रावधानमा कडाइ गर्दा नाका क्षेत्रका सर्वसाधारण नागरिकले समस्या भोग्नुपरेको आफूले प्रधानमन्त्रीलाई जानकारी गराएको मुख्यमन्त्री यादवले बताए। जवाफमा प्रधानमन्त्री शाहले सर्वसाधरण नागरिकलाई अप्ठ्यारो पर्ने गरी कुनै निर्देशन नभएको बताएका थिए।

‘हामीले त्यस्तो केही गरेका छैनौँ, ठूला तस्करी र लागूऔषध नियन्त्रण गर्न निर्देशन भएको छ,’ प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै मुख्यमन्त्री यादवले भने,‘यो विषय चाँडै समाधान हुन्छ।’

मुख्यमन्त्री यादवले धार्मिक पर्यटनलाई मध्यनजर गरी रामायण सर्किटको कामलाई तीव्रता दिन आवश्यक रहेको बताएका थिए। जवाफमा प्रधानमन्त्री शाहले जनकपुरधाम–अयोध्या–लुम्बिनी जोड्न सकिए धार्मिक पर्यटन फस्टाउने व्यापक संभावना रहेको सुनाएका थिए।

छलफलका क्रममा किसानले भोग्नु परिरहेको मलको समस्या समाधान गर्न, चुरे क्षेत्रको संरक्षणलगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको उनले बताए।

प्रधानमन्त्री नियुक्त भएपछि शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन्। सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई बोलाइए पनि कोशी र सुदूरपश्चिमका मुख्यमन्त्रीहरू व्यक्तिगत कारणले अनुपस्थित भएका थिए।

Read more news from Himal Press

Explore by Source or Category