npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

विराट गोल्डकप फुटबल ट्रष्टको ध्यानाकर्षण!

Prakash Timalsina 3 hours ago

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगरमा जारी ३८औँ विराट गोल्डकप फुटबल प्रतियोगितासम्बन्धी विषयमा हाम्रो खेलकुदले प्रकाशित गरेको फोटो क्याप्सनमा आयोजक विराटनगर गोल्डकप फुटबल ट्रष्टले ध्यानाकर्षण भएको जनाएको छ।

हाम्रो खेलकुदमा प्रकाशित फोटो क्याप्सनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को भूमिकालाई लिएर ‘दोहोरो चरित्र’ देखिएको भन्दै प्रश्न उठाइएको थियो।

समाचारमा राखेपले विदेशी खेलाडीको श्रम स्वीकृतिसम्बन्धी सिफारिस रोकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राष्ट्रिय लिग स्थगित गर्न बाध्य बनाएको प्रसंग उल्लेख गरिएको थियो।

तर त्यही समयमा मोफसलका प्रतियोगितामा श्रम स्वीकृतिको स्पष्टता नभएका विदेशी खेलाडी खेलिरहेको अवस्थामा पनि रोकतोक नभएको र राखेपकै सदस्य सचिव रामचरित्र मेहताले त्यस्ता खेलाडीलाई पुरस्कार वितरण गरेको विषयलाई लिएर ‘दोहोरो चरित्र’ भएको प्रश्न उठाइएको थियो।

विराटनगरमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा झापा–११ ले नेपाल पुलिस क्लबलाई १-० गोलले हराएको खेलपछि ‘म्यान अफ द म्याच’ घोषित भएका विदेशी खेलाडी सोलोमोन किङलाई सदस्य–सचिव मेहताले पुरस्कार वितरण गरेका थिए।
सोही विषयमा आयोजक ट्रष्टले विज्ञप्ति जारी गर्दै उक्त दाबी असत्य भएको जनाएको छ।

ट्रष्टका अनुसार झापा–११ बाट खेलेका तीन विदेशी खेलाडीले चित्लाङ एफसी मार्फत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट श्रम स्वीकृति लिएका छन्। विभागको पत्रसंख्या २०८२/०८३ च.नं. ४२९ (मिति १२/१०/०२) अनुसार श्रम स्वीकृति लिइएको र चित्लाङ एफसीले विराट गोल्डकपमा खेल्नका लागि फुकुवा पत्र (रिलिज लेटर) दिएको आधारमा उनीहरूलाई प्रतियोगितामा खेल्न दिइएको बताइएको छ।

प्रतियोगिताको नियमावलीमा पनि श्रम स्वीकृति प्राप्त क्लबले दिएको रिलिज लेटरका आधारमा अन्य क्लबबाट खेल्न सक्ने व्यवस्था रहेको आयोजकको भनाइ छ।

यद्यपि विदेशी खेलाडीले लिएको श्रम स्वीकृति जुन क्लब वा संस्थाका लागि लिइएको हो, त्यही संस्थाका लागि मात्र लागू हुने कानुनी व्यवस्था रहेको छ। यदि अर्को क्लबबाट खेलाउनुपर्ने भए सम्बन्धित क्लबका लागि रिलिज लिएर छुट्टै श्रम स्वीकृति लिनुपर्ने प्रावधान पनि रहेको छ।

ट्रष्टले आफूहरू देशको विद्यमान ऐन कानुन, नीति र नियम पालना गर्न सधैँ प्रतिबद्ध रहेको उल्लेख गरेको छ।

झापा ११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लबले शनिबार विराट गोल्डकपको फाइनलमा खेल्नेछन्।

The post विराट गोल्डकप फुटबल ट्रष्टको ध्यानाकर्षण! first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category