npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

बुटवल-नारायणगढ सडक विस्तार : पूर्वी खण्डमा ३४ पुल र २११ कल्भर्ट निर्माण

Hem Rokaha 6 hours ago

मध्यविन्दु (नवलपरासी)। बुटवल-नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पक्की पुल संचालनमा आएको छ।

निर्माण कार्य सम्पन्न भएसँगै शुक्रबारदेखि पुलमार्फत सवारी आवागमन सुरु गरिएको बुटवल-नारायणगढ सडक आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालले बताए। विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीवासमा रहेको करिब २४५ मिटर लम्बाइको विनयी खोला पुल निर्माण सम्पन्न भई संचालनमा आएको उनले बताए।

यसअघि सोही स्थानमा रहेको फलामे पुल करिब २ वर्षअघि भत्किएपछि अस्थायी डाइभर्सन सडकमार्फत यातायात संचालन हुँदै आएको थियो। वर्षा याममा बाढीका कारण डाइभर्सन प्रयोग गर्दा पटक-पटक आवागमन अवरुद्ध हुने समस्या देखिँदै आएको थियो। योसँगै नारायणगढ-बुटवल सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका सबै पुल तथा कल्भर्ट निर्माण कार्य सम्पन्न भएको इञ्जिनियर खनालले बताए।

‘आयोजनाअन्तर्गत पूर्वी खण्डमा १२ ठूला र २२ साना पुल निर्माण सम्पन्न भएका छन्,’ उनले भने, ‘पूर्वी खण्डमा निर्माण गर्नुपर्ने २११ कल्भर्टसमेत पूर्ण रूपमा सम्पन्न भइसकेका छन्।’

बुटवल-नारायण सडक खण्डको गैँडाकोटदेखि दुम्कीबाससम्मको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आयोजनाको पूर्वी खण्डअन्तर्गत दाउन्ने खण्डको मात्र काम बाँकी रहेको छ भने अन्य क्षेत्रको काम अन्तिम चरणमा पुगेको इञ्जिनियर खनालले जानकारी दिए।

उनका अनुसार पूर्वी खण्डमा अहिलेसम्म ८१ प्रतिशत भौतिक प्रगति भएको छ। रासस

The post बुटवल-नारायणगढ सडक विस्तार : पूर्वी खण्डमा ३४ पुल र २११ कल्भर्ट निर्माण appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category