लहानमा क्रिकेट रंगशाला निर्माण सुरु
सिरहा। लहान नगरपालिका-४ स्थित यज्ञभूमिमा संघ र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण हुन लागेको क्रिकेट रंगशालाको बिहीबार औपचारिक रूपमा शिलान्यास गरिएको छ।
नगरप्रमुख महेशप्रसाद चौधरीले एक विशेष समारोहबीच रंगशालाको शिलान्यास गरेका हुन्। नगरपालिकाको गौरवको आयोजनाका रूपमा हेरिएको यस रंगशालाले स्थानीयस्तरमा रहेका क्रिकेट प्रतिभालाई प्रस्फुटन गराउन र ठूला प्रतियोगिताहरू आयोजना गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।
रंगशाला निर्माणका लागि कुल आठ करोड २३ लाख रुपैयाँको लागत अनुमान गरिएको थियो। प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब ३० प्रतिशत ‘बिलो’ मा पाँच करोड ६२ लाख रुपैयाँमा निर्माणको सम्झौता भएको नगरप्रमुख चौधरीले जानकारी दिए।
यस आयोजनामा संघीय सरकार र स्थानीय सरकारको संयुक्त लगानी रहेको छ। कुल लागतमध्ये तीन करोड रुपैयाँ संघीय बजेटबाट प्राप्त भएको छ भने बाँकी लहान नगरपालिकाले व्यहोर्ने गरी आर्थिक स्रोत सुनिश्चित गरिएको छ। न्यून दरमा ठेक्का लागेकाले कामको गुणस्तरमा प्रश्न उठ्न सक्ने भन्दै नगरपालिकाले विशेष सतर्कता अपनाएको उनको भनाइ छ।
लहान नगरपालिकाका योजना प्रमुख अनिक यादवले निर्माण कम्पनीलाई गुणस्तरबारे सचेत गराउँदै भने, “धेरै न्यून दरमा आयोजनाको जिम्मेवारी लिए पनि निर्माण कम्पनीलाई कामको गुणस्तरमा कुनै छुट दिइने छैन। हामीले प्राविधिक टोलीमार्फत कडाइका साथ अनुगमन गर्नेछौँ र सम्झौता अनुसारकै स्तरीय संरचना निर्माण सुनिश्चित गर्नेछौँ।”
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले लहानको समग्र विकासमा खेलकुद पूर्वाधार अनिवार्य रहेको बताए। उनले भने, “लहानमा क्रिकेटप्रतिको क्रेज लोभलाग्दो छ, तर हाम्रा खेलाडीहरूसँग अभ्यास गर्ने उचित मैदान थिएन। यो रंगशाला निर्माण भएसँगै लहान खेलकुदको केन्द्र (हब) बन्नेछ। हामीले आगामी २०८३ साल चैतभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेका छौँ।”
यज्ञभूमि क्षेत्रमा निर्माण हुन लागेको यो रंगशालाले स्थानीय अर्थतन्त्र र पर्यटनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।