पाकिस्तान र न्युजिल्याण्डबीचको आजकाे खेलमा वर्षाको खतरा कति ?
काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को सुपर ८ अन्तर्गत शनिबार हुने पाकिस्तान र न्युजिल्याण्डबीचको महत्वपूर्ण भिडन्तमा वर्षाको खतरा बढेकाे छ । कोलम्बोको आर. प्रेमदासा स्टेडियममा हुने यस खेलअघि भारी वर्षाका कारण पाकिस्तानको अभ्यास सत्र समेत रद्द भएको छ, जसले टोलीको तयारीमा ठूलो धक्का पुर्याएको हाे ।
मौसम पूर्वानुमानका अनुसार शनिबार कोलम्बोमा वर्षा हुने सम्भावना ७५ प्रतिशत रहेको छ। दिउँसोको समयमा १८ प्रतिशत चट्याङ पर्ने सम्भावना भए तापनि खेल सुरु हुने साँझ ७ बजेतिर यो बढेर ४१ प्रतिशत पुग्ने अनुमान गरिएको छ। आकाश ९९ प्रतिशत बादलले ढाकिने र करिब डेढ घण्टासम्म पानी पर्न सक्ने देखिएकाले खेल ढिलो सुरु हुने वा ओभर छोट्याइने प्रबल सम्भावना छ।
खेल रद्द भएमा के हुन्छ ?
आईसीसीको नियमअनुसार सुपर ८ चरणका खेलहरूका लागि कुनै पनि ‘रिजर्भ डे’ राखिएको छैन। खेलको नतिजा आउनका लागि दुवै टोलीले कम्तिमा ५–५ ओभर खेल्नुपर्ने हुन्छ। यदि वर्षाका कारण खेल हुनै सकेन वा न्यूनतम ओभर पनि पूरा भएन भने दुवै टोलीलाई १-१ अंक प्रदान गरिनेछ। यसअघि जिम्बाब्वे र आयरल्याण्डबीचको खेल पनि वर्षाकै कारण रद्द भएर दुवैले अंक बाँडेका थिए।
पाकिस्तान यसअघि समूह चरणमा भारतसँग पराजित भए पनि नामिबिया र नेदरल्याण्ड्सलाई हराउँदै सुपर ८ मा आइपुगेको हो। उता न्युजिल्याण्डले पनि क्यानाडा र अफगानिस्तानलाई पराजित गर्दै आफ्नो स्थान सुरक्षित गरेको थियो। यो खेल रद्द भएमा दुवै टोलीले १-१ अंकमा चित्त बुझाउनुपर्नेछ, जसले गर्दा सेमिफाइनल पुग्न समूहमा रहेका बाँकी खेलहरू (इङ्गल्याण्ड र श्रीलंका विरुद्ध) जित्नैपर्ने दबाब बढ्नेछ।