Taksar News
कर्णालीका सपना बोकेर संसद् जाने बालेनकाे घोषणा
काठमाडौँ । बालेन शाह ले कर्णालीको गरिबी र सम्भावनालाई केन्द्रमा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई “कर्णाली बुझ्ने र उसका सपना बोकेर संसद् जाने” राजनीतिक शक्ति रूपमा प्रस्तुत गरेका छन्।
सुर्खेतमा आयोजित चुनावी सभामा बोल्दै उनले कर्णालीको गरिबी धेरै नेताले देखे पनि वास्तविक पीडा र सम्भावना नबुझेको टिप्पणी गरे। कर्णालीमा प्राकृतिक, सांस्कृतिक र कृषि सम्पदाको विशाल आधार रहे पनि त्यसको उपयोग र बजार पहुँच कमजोर रहेको उनले बताए।
यार्सागुम्बा विश्व बजारमा पुग्ने तर कर्णालीकै स्याउ र मार्सी चामल देशभित्रै सहज रूपमा नपुग्ने अवस्थालाई उदाहरण दिँदै उनले रास्वपा स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्ने पार्टी बन्न चाहेको बताए।
कर्णालीको सिँजा सभ्यता, भाषा, लिपि र सांस्कृतिक परम्परा संरक्षणलाई पनि उनले प्रमुख एजेन्डा बनाएका छन्। काठमाडौं महानगरपालिकामा नेवा संस्कृति संरक्षणको अनुभव उल्लेख गर्दै उनले कर्णालीको सभ्यता जोगाउने प्रतिबद्धता दोहोर्याए।
कर्णालीमा भोकमरी, बाल तथा मातृ मृत्युदरजस्ता मानव विकासका सूचक अझै कमजोर रहेको उल्लेख गर्दै उनले “गरिबी बेच्ने होइन, बुझ्ने नेतृत्व” आवश्यक रहेको बताए।
कर्णालीका पर्यटन, कृषि र आयआर्जनका सम्भावना वृद्धि गर्ने लक्ष्यसहित “कर्णालीका सपना बोकेर संसद् जाने” प्रतिबद्धता रास्वपाले सुर्खेतबाट सार्वजनिक गरेको उनले बताएका छन्।