npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

पालिका ब्यूरो 21 hours ago

लमजुङ – पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ । सूर्योदयको बेला हिमालका काखमा सुनौलो रङ छर्ने दृश्य र हल्का कुहिरो चिर्दै देखा पर्ने अन्नपूर्ण, मनास्लु, गणेश, माछापुच्छे लगायतका हिमशृङ्खलाले पर्यटकहरूलाई मन्त्रमुग्ध बनाइरहेको छ ।

विसं २०७२ को विनाशकारी भूकम्पपछि पुनर्निर्माण भएको गुरुङगाउँमा सामुदायिक होमस्टे सञ्चालनमा आएको छ । हाल १७ घरमा होमस्टे सञ्चालनमा छन्, जसले एकै रातमा करिब १०० पर्यटकलाई बसोबासको सुविधा दिन्छ । यहाँबाट गोरखादेखि तनहुँका विभिन्न क्षेत्रहरू, साथै लमजुङका सुन्दर बजार र डाँडाहरू समेत देख्न सकिन्छ ।

राइनासकोटमा बाइसे–चौबिसे राजाको पालामा निर्माण भएको किल्ला, कालिका, कोटेश्वर महादेव र थानीमाई मन्दिरजस्ता धार्मिक र सांस्कृतिक स्थलहरूले ऐतिहासिक महत्व झल्काउँछन् । समुद्री सतहबाट १७७४ मिटर उचाइमा रहेको राइनासकोटमा सूर्योदय र सूर्यास्त दुवै अवलोकन गर्न सकिन्छ। साँझपख अस्ताउँदै गरेको सूर्यले नदी किनारका फाँटमा रातो–पहेँलो आभा छर्दा पर्यटक लामो समय दृश्यमा रमाउँछन् ।

नगरपालिकाले राइनासकोटको पर्यटनलाई दिगो र व्यवस्थित बनाउने योजना अघि सारेको छ। होमस्टे व्यवस्थापन, स्थानीय उत्पादन प्रोत्साहन, पार्क निर्माण, मन्दिर पुनर्निर्माण, पुरातात्विक संरक्षण र सडक सुधारमा काम भइरहेको छ । पर्यटक आकर्षणमा प्याराग्लाइडिङ, ग्रामीण जीवनशैली, स्थानीय संस्कृति र मनमोहक दृश्य मुख्य कारण बनेका छन्। यहाँ पुग्न पाउँदीबजारबाट करिब डेढ घण्टा यात्रा गर्नुपर्छ ।

Read more news from PalikaNews

Explore by Source or Category