सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङले भने- नेपाल-चीन आर्थिक सम्बन्ध विकास हुन सकेन
काठमाडौं। सभामुख देवराज घिमिरेसँग आइतबार नेपालका लागि चीनका राजदूत छन सोङले बिदाइ भेट गरेका छन्। सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तार लगायतका विषयमा छलफल भएको छ।
सभामुख घिमिरेले स्वदेश फर्किन लागेका राजदूत सोङलाई बधाई दिँदै नेपाल-चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तार तथा दुवै देशका संसद्हरूबीच सम्बन्ध मजबुत बनाउन उनले पुर्याएको योगदानको उच्च प्रशंसा गरे। सभामुखले राजदूत सोङको नेपाल बसाइ सुखद र अविस्मरणीय रहेको विश्वास व्यक्त गरे।
भेटमा नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव वर्षभरि मनाइएको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले सन् २०२५ मा दुवै पक्षबाट आयोजना गरिएका विविध कार्यक्रमहरूले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याएको बताए। उनले नेपाल र चीन असल छिमेकी, घनिष्ठ मित्र र भरपर्दो साझेदार रहँदै आएको तथा शान्तिपूर्ण सहअस्तित्वका ५ सिद्धान्त, आपसी सम्मान, सहयोग र समझदारीका आधारमा सम्बन्ध अघि बढिरहेको स्पष्ट पारे।
सभामुख घिमिरेले नेपाल एक-चीन सिद्धान्तप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्याउँदै नेपाली भूमिमा चीनको हितविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
भेटमा चीनको नेतृत्व तहबाट नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भू-जडित मुलुकमा रूपान्तरण गर्ने दिशामा प्रदान हुँदै आएको सहयोगको सभामुखले प्रशंसा गरे। साथै, नेपाल-चीन संसद्बीच प्रतिनिधिमण्डलको नियमित भ्रमण र संवादले द्विपक्षीय सम्बन्धलाई अझ फराकिलो र सुदृढ बनाएको उल्लेख गरे।
सभामुख घिमिरेले चीन सरकारबाट प्राप्त हुँदै आएको विकास सहायताप्रति नेपाल आभारी रहेको बताउँदै बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)सम्झौता अन्तर्गतका तथा अन्य विकास सहायता परियोजनाहरू यथाशीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
गणतन्त्र चीनका राजदूत छन सोङले चीनले नेपाललाई कुटनीतिक सम्बन्धमा उच्च प्राथमिकता दिएको बताए। उनले आफ्नो कार्यकालमा सन् २०२० मा भएको चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमणमा भएका सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण सफलता प्राप्त भएको उल्लेख गरे।
राजदूत सोङले नेपाल र चीनबीच जनस्तरको सम्बन्ध उच्च भए पनि आर्थिक सम्बन्ध विकास हुन नसकेको बताए। उनले केही दिनअघि नेपाल-चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशाला भएको स्मरण गर्दै धेरै चिनियाँ व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको बताए।
राजदूत सोङले आफ्नो कार्यकालमा सभामुखसहित नेपालका शीर्ष नेताहरूको न्यानो र सकारात्मक सहयोग सदैव स्मरणीय रहने बताए।
The post सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङले भने- नेपाल-चीन आर्थिक सम्बन्ध विकास हुन सकेन appeared first on BIZMANDU.