npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

सुन एकैदिन ५ हजार ५ सय महँगिदै तोलाको २ लाख ६७ हजार २ सय पुग्यो, चाँदी पनि बढ्यो

Sarala Subedi 6 hours ago

काठमाडौं। लगातार बढेको सुनको मूल्यमा मंगलबार अझ फराकिलो बढोत्तरी छ। अघिल्लो दिनका तुलनामा ५ हजार ५ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको छ। मंगलबार सुन तोलाको २ लाख ६७ हजार २ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि साताको पहिलो दिनका तुलनामा ३ हजार ४ सय रुपैयाँले बढेर सोमबार प्रति तोला २ लाख ६१ हजार ७ सय रुपैयाँ भएको थियो। गत आइतबार कारोबार मूल्य प्रति तोला २ लाख ५८ हजार ३ सय रुपैयाँ थियो। तीन दिनमै तोलामा ८ हजार ९ सय रुपैयाँ बढिसकेको छ।

साताको तेस्रो दिन सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। कारोबार मूल्य तोलाको ४ हजार २ सय ५५ रुपैयाँ भएको छ।

अघिल्लो दिनका तुलनामा २० रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको हो। तीन दिनमा चाँदी तोलामा १५० रुपैयाँ बढेको छ। साताको पहिलो दिनका तुलनामा १३० रुपैयाँ बढ्दा सोमबार प्रति तोला ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

सुनचाँदी महँगिनुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमै मूल्य निरन्तर उच्च हुनु हो। विश्व बजारमा सुनको मूल्य प्रतिऔंस नयाँ उचाइमा कारोबार भइरहँदा त्यसको सोझो असर नेपाली बजारमा परेको हो। महासंघका अनुसार नेपालमा सुनको मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारको मूल्य, डलरको विनिमय दर र आयात लागतलाई आधार मानिन्छ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य बढेर प्रतिऔंस ४४८०.३९ डलर पुगेको छ भने चाँदी प्रतिऔंस ६९.४२ डलर छ। सुन एक महिनामा प्रति औंस ३३८.८५ डलर महँगिएको छ भने चाँदीमा १७.९१ डलरको बढोत्तरी छ।

अन्तर्राष्ट्रिय स्तरमा हेर्दा सुनको मूल्य बढ्नुका पछाडि भूराजनीतिक तनाव प्रमुख कारण बनेको छ। मध्यपूर्व र अन्य क्षेत्रका राजनीतिक द्वन्द्व, ऊर्जा आपूर्ति जोखिम तथा विश्व अर्थतन्त्रप्रति बढ्दो अनिश्चितताले लगानीकर्तालाई सुरक्षित लगानीतर्फ आकर्षित गरिरहेको छ। यस्तो अवस्थामा सुनलाई सबैभन्दा सुरक्षित सम्पत्ति मानिने भएकाले यसको माग तीव्र बढेको छ। माग बढेसँगै मूल्यले पनि नयाँ उचाइ छोएको हो।

अर्कोतर्फ अमेरिकी केन्द्रीय बैंकले आगामी दिनमा ब्याजदर घटाउन सक्ने संकेत दिएपछि अन्तर्राष्ट्रिय वित्तीय बजारमा सुनप्रतिको आकर्षण अझ बढेको छ। ब्याजदर घट्ने अपेक्षाले बन्ड र नगद जस्ता लगानी साधनको आकर्षण घटाउँछ, जसको प्रत्यक्ष लाभ सुनले पाउँछ। डलर कमजोर हुने संकेतसँगै सुनमा लगानी गर्ने प्रवृत्ति बलियो बनेको छ।

चाँदीको हकमा पनि अवस्था फरक छैन। पछिल्ला वर्षहरूमा चाँदी केवल गहना वा सुरक्षित लगानीमा मात्र सीमित नरही औद्योगिक प्रयोगमा समेत व्यापक हुँदै गएको छ। सोलार प्यानल, विद्युतीय सवारी, ब्याट्री प्रविधि, डेटा सेन्टर र एआई प्रविधिमा चाँदीको प्रयोग बढ्दै जाँदा यसको माग विश्वव्यापी रूपमा बढेको छ। आपूर्ति अपेक्षाअनुसार नबढ्दा चाँदीको मूल्य पनि सुनसँगै उकालो लागेको हो।

नेपाली बजारमा मूल्य बढ्नुको अर्को कारण डलरको विनिमय दर पनि हो। अमेरिकी डलर महँगो हुँदा सुन आयातको लागत बढ्छ, जसको भार अन्ततः उपभोक्तामाथि पर्छ। नेपालमा अधिकांश सुन आयातमा निर्भर हुने भएकाले अन्तर्राष्ट्रिय मूल्य र डलर दर बढ्दा स्थानीय बजारमा तत्काल असर देखिन्छ।

लगातारको मूल्यवृद्धिले सुनचाँदीको व्यापारमा भने मिश्रित प्रभाव परेको छ। मूल्य उच्च हुँदा लगानीका रूपमा सुन किन्न चाहनेको चासो बढे पनि गहनाका नियमित उपभोक्ता भने पर्ख र हेरको अवस्थामा पुगेका छन्। व्यवसायीहरूका अनुसार मूल्य स्थिर नहुँदासम्म बजारमा ठूलो कारोबारको अपेक्षा गर्न कठिन छ।

The post सुन एकैदिन ५ हजार ५ सय महँगिदै तोलाको २ लाख ६७ हजार २ सय पुग्यो, चाँदी पनि बढ्यो appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category