PalikaNews
गाउँगाउँमा सुन्तला पहेँलिँदा पनि किसानलाई मूल्यको पीडा
बागलुङ — बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । उत्पादन राम्रो भए पनि किसानले भने उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारीहरू बगानमै पुगेर सुन्तला खरिद गर्ने र न्यून मूल्य तोक्ने भएकाले हरेक वर्ष घाटामा बिक्री गर्नुपरेको किसानको भनाइ छ ।
काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्र सुन्तला उत्पादनका लागि प्रसिद्ध मानिन्छन् । तर यही क्षेत्रमा उत्पादन भएको सुन्तला शहरी बजारमा प्रतिकिलो १२० रुपैयाँभन्दा बढीमा बिक्री हुँदा पनि किसानले भने प्रतिकिलो ४० देखि ५० रुपैयाँमै बेच्न बाध्य हुनुपरेको बागलुङ नगरपालिका–८ सिगानाका किसान टोबहादुर खड्काले बताए ।
उनका अनुसार व्यापारीले किसानबाट न्यून मूल्यमा खरिद गरी बजारमा महँगोमा बिक्री गर्दा किसान र उपभोक्ता दुवै मारमा परेका छन् । “किसानले उत्पादन गरेको सुन्तलालाई सही रूपमा बजारीकरण गर्ने व्यवस्था नहुँदा समस्या दोहोरिएको छ,” खड्काले भने । उनले हरेक वर्ष लाखौँ रुपैयाँ बराबरको सुन्तला उत्पादन भए पनि मूल्य नपाउँदा किसानको जीवनस्तर उकासिन नसकेको बताए ।
“सिगानामा सुन्तला अत्यधिक उत्पादन हुन्छ । उत्पादनअनुसार मूल्य पाउने हो भने किसानको अवस्था धेरै राम्रो हुन्थ्यो,” उनले भने, “तर व्यापारी साउन–भदौमै बगान किन्छन्, हामीले प्रतिकिलो ४०–५० रुपैयाँभन्दा बढी पाउने अवस्था छैन । उपभोक्ताले भने बजारमा महँगो मूल्य तिर्छन् ।”
त्यस्तै अर्का किसान हरिप्रसाद कँडेलले पनि सुन्तलाको मूल्य निर्धारणमा व्यापारीको मनपरीका कारण किसान र उपभोक्ता दुवै ठगिएको गुनासो गरे । किसानबाट प्रतिकिलो ८० रुपैयाँमा खरिद गरेर बजारमा १०० रुपैयाँमा बिक्री भए किसान र उपभोक्ता दुवै लाभान्वित हुने उनको भनाइ छ ।
कृषि विकास कार्यालयका अनुसार गत वर्ष बागलुङमा चार हजार ७१.६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । त्यसबाट करिब २६ करोड ४६ लाख ५४ हजार रुपैयाँ बराबरको आर्थिक मूल्य सिर्जना भएको थियो । यस वर्ष भने किसानले बल्ल सुन्तला टिप्न थालेकाले यकिन तथ्याङ्क आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।
किसानहरूले सुन्तलाको उत्पादनसँगै बजारीकरण, भण्डारण र सहकारीमार्फत बिक्री प्रणाली विकास गर्न सके मूल्य समस्या समाधान हुने अपेक्षा गरेका छन् ।