PalikaNews
जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती
जुम्ला — जुम्लामा उच्च घनत्व भएको फुजी जातको स्याउ खेती विस्तार हुँदै गएको छ । हाल जिल्लाका आठवटै स्थानीय तहमा ५२ हेक्टर क्षेत्रफलमा यस्तो स्याउ खेती गरिएको छ, जसमा ४० हेक्टरमा उत्पादन भइरहेको छ ।
कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार यस वर्ष जिल्लाभरि चार हजार ४९७ हेक्टर क्षेत्रफलमा स्याउ बिरुवा रोपिएको छ भने दुई हजार १६५ हेक्टरमा उत्पादन भएको छ। यस वर्ष जुम्लाबाट करिब १८ हजार २४५ मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान गरिएको छ ।
जिल्लामा रेड डेलिसेस, रोयल डेलिसेस, गोल्डेन, रिचा रेड, जनाथन र स्पोरलगायतका परम्परागत जातसँगै गाला र फुजीजस्ता उच्च घनत्वका स्याउ पनि उत्पादन हुन थालेका छन् । राम्रो आम्दानी दिने भएकाले किसानहरू फुजी जाततर्फ आकर्षित भइरहेका छन् ।
कृषि विकास कार्यालयका अनुसार जिल्लाका करिब १९ हजार घरधुरीमध्ये १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न छन्, जसले स्थानीय अर्थतन्त्रमा स्याउ खेतीको महत्त्व बढाउँदै लगेको देखिन्छ ।
बगैँचामा फूलले ढाकिए सेताम्मे
हाल जुम्लाका स्याउ बगैँचामा फूल फुलेर सेताम्मे भएका छन्। चन्दननाथ नगरपालिका–५ स्थित आँखे कृषि पर्यटन अनुसन्धान उद्योगका सञ्चालक सरोज शाही का अनुसार चैत–वैशाखमा स्याउ फुल्ने र असोज–कात्तिकमा फल्ने गर्छ ।
शाहीले चन्दननाथ मन्दिरको जग्गा भाडामा लिएर ३ हजार ३०० इटालियन जातको फुजी स्याउ लगाएका छन्, जसले उत्पादन दिन थालिसकेको छ ।
हिमा गाउँपालिकाका कृषि उद्यमी गोपाल रोकायाका अनुसार बगैँचामा फुलेका फूलले जुम्लाको वातावरण अझ आकर्षक बनेको छ र यस वर्ष उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ ।
तुसारोको जोखिम कायमै
यद्यपि, स्याउ खेतीमा चुनौती पनि कायमै छ । तिला गाउँपालिका–१ की किसान सरिता रावतका अनुसार कालो तुसारोले फूल झार्ने समस्या रहँदै आएको छ, जसले उत्पादनमा असर पार्ने गरेको छ ।
जिल्लाको एक नगरपालिकासहित सात गाउँपालिकाका सबै वडामा स्याउ खेती विस्तार भएको छ । उच्च घनत्वका स्याउ खेती विस्तारसँगै जुम्लालाई स्याउ उत्पादनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने सम्भावना बढ्दै गएको छ ।