npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

मनास्लु वर्ल्ड कलेजद्वारा ‘मनास्लु फुड फेस्टिबल २०२५’ सम्पन्न

अनलाइन टीभी नेपाल 11 hours ago

काठमाडौं – मनास्लु वर्ल्ड कलेज र मनास्लु हस्पिटालिटी क्लबको सहकार्यमा आयोजना गरिएको ‘मनास्लु फुड फेस्टिबल २०२५’ भव्य रूपमा सम्पन्न भएको छ। फुड फेस्टिबल चावहिल चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजको प्राङ्गणमा आयोजना गरिएको थियो।

फेस्टिबलमा कलेजको व्यवस्थापन संकाय अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत होटल म्यानेजमेन्टका विद्यार्थीहरूले आफैं तयार पारेका विविध खानाका परिकारहरू प्रदर्शनीमा राखिएका थिए। विद्यार्थीहरूको सिर्जनशीलता, पाककला र व्यवस्थापन सीप झल्किने परिकारहरूले सहभागीहरूको ध्यान आकर्षित गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका अध्यक्ष गेन्द्र लामाले विद्यार्थीलाई सैद्धान्तिक शिक्षासँगै व्यवहारिक ज्ञान दिन कलेज सदैव प्रतिबद्ध रहेको बताए। यस्ता कार्यक्रमहरूले हस्पिटालिटी क्षेत्रमा भविष्य बनाउन चाहने विद्यार्थीहरूका लागि बलियो आधार तय गर्ने विश्वास अध्यक्ष लामाले व्यक्त गरे।

नेपाल सांस्कृतिक रूपमा मात्र होइन, खानाका परिकारका दृष्टिले पनि समृद्ध देश भएको उल्लेख गर्दै अध्यक्ष लामाले हस्पिटालिटी क्षेत्रमा नेतृत्व विकास, मौलिक खानाको संरक्षण र प्रवर्द्धन हामी स्वयंले गर्नुपर्ने आवश्यकता औंल्याए। सोही उद्देश्यले फुड फेस्टिबल आयोजना गरिएको उनको भनाइ थियो।

त्यस्तै, कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल राजन श्रेष्ठले नेपाली मौलिक खानाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गर्नुपर्ने आवश्यकता रहेको बताए। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई भविष्यमा व्यवसायिकतर्फ उन्मुख गराउने भएकाले उनले विद्यार्थीहरूलाई शुभकामना पनि व्यक्त गरे।

फेस्टिबलमा १८ वटा स्टलमार्फत विभिन्न समुदायको प्रतिनिधित्व गर्ने परिकारहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा १०० भन्दा बढी कलेजलाई आमन्त्रण गरिएको र ५० भन्दा बढी कलेजबाट उल्लेखनीय सहभागिता रहेको कलेजका अध्यक्ष लामाले जानकारी दिए।

Read more news from Online Tv Nepal

Explore by Source or Category