भारतलाई १९१ रनले हराउँदै पाकिस्तान बन्यो एसिया कप च्याम्पियन
काठमाडाैं । पाकिस्तानले दोस्रो पटक एसीसी यू-१९ एसिया कपको उपाधि आफ्नो पोल्टामा पारेको छ।
आजकाे फाइनल खेलमा ओपनर समीर मिन्हासको कीर्तिमानी ब्याटिङ र अली रजाको धारिलो बलिङको मद्दतले पाकिस्तानले भारतलाई १९१ रनको विशाल अन्तरले पराजित गरेको हाे ।
दुबईको आईसीसी एकेडेमी ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३४७ रनको पहाड खडा गरेको थियो।
पाकिस्तानका लागि ओपनर समीर मिन्हासले उत्कृष्ट प्रदर्शन गर्दै मात्र ११३ बलमा १७२ रनको विष्फोटक पारी खेले। उनले आफ्नो पारीमा १७ चौका र ९ छक्का प्रहार गरे। यो स्कोर यू-१९ एसिया कपको फाइनल इतिहासमै कुनै पनि ब्याटरले बनाएको सबैभन्दा उच्च व्यक्तिगत स्कोर हो। उनलाई अहमद हुसैनले ५६ रन र उस्मान खानले ३५ रन बनाएर राम्रो साथ दिएका थिए।
भारतका लागि दीपेश देवेन्द्रनले ३ विकेट लिए पनि निकै महँगो सावित भए।
३४८ रनको विशाल लक्ष्य पछ्याएको भारतीय टोली पाकिस्तानी बलरसामु निरीह देखियो। भारत मात्र २६.२ ओभरमा १५६ रनमा समेटियो।
भारतका लागि दीपेश देवेन्द्रनले सर्वाधिक ३६ रन बनाए भने वैभव सूर्यवंशीले २६ रनको योगदान दिए। अन्य ब्याटरहरूले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
पाकिस्तानका लागि अली रजाले घातक बलिङ गर्दै ४ विकेट लिए भने हुजैफा अहसान, अब्दुल सुभान र मोहम्मद सैयामले समान २-२ विकेट लिए।