पश्चिमी न्यून चापीय प्रणालीका प्रभावले केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै तराईका केही स्थानमा हुस्सु लागेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भागका साथै अन्य प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बदली हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
त्यसैगरी, शुक्रबार राति तराईका केही स्थानमा तुवाँलो लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने छ भने बाँकी प्रदेशमा मुख्यतया मौसम सफा रहने छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन संचालन लगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ।
The post पश्चिमी न्यून चापीय प्रणालीका प्रभावले केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना appeared first on BIZMANDU.