बायर्न म्युनिखले ३५औँ पटक जित्यो बुन्डेसलिगाको उपाधि
काठमाडाैं । जर्मन महारथी बायर्न म्युनिखले आइतबार राति भएको खेलमा स्टुटगार्टलाई ४–२ गोल अन्तरले पराजित गर्दै कीर्तिमानी ३५औँ पटक बुन्डेसलिगाको उपाधि चुमेको छ। लिगमा चार खेल खेल्न बाँकी छँदै बायर्नले उपाधि आफ्नो कब्जामा पारेको हो।
आफ्नै घरेलु मैदान एलायन्ज एरिनामा भएको खेलमा २१औँ मिनेटमा स्टुटगार्टका क्रिस फुहरिचले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। तर, पहिलो हाफ सकिनुअघि ६ मिनेटको अन्तरालमा बायर्नले पुनरागमन गर्दै तीन गोल गर्यो। राफायल गुरेरो, निकोलस ज्याक्सन र अल्फान्सो डेभिसले गोल गरेपछि पहिलो हाफमा बायर्न ३–१ ले अघि रह्यो।
दोस्रो हाफमा मैदान प्रवेश गरेका ह्यारी केनले सिजनको आफ्नो ३२औँ लिग गोल गर्दै टोलीको जित सुनिश्चित गरे। केनको यो सबै प्रतियोगिताहरूमा गरी सिजनको ५१औँ गोल हो। खेलको ८८औँ मिनेटमा स्टुटगार्टका चेमा एन्ड्रेसले एक सान्त्वना गोल फर्काएका थिए।
यस जितसँगै बायर्नले एकै सिजनमा सर्वाधिक १०९ गोल गर्ने नयाँ बुन्डेसलिगा कीर्तिमान समेत बनाएको छ। यसअघि सन् १९७१–७२ को सिजनमा गर्ड मुलर र फ्रान्ज बेकनबाउर सम्मिलित टोलीले बनाएको १०१ गोलको कीर्तिमान ५४ वर्षपछि तोडिएको हो।
दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्ड अघिल्लो दिन होफेनहाइमसँग पराजित भएपछि बायर्नलाई उपाधि पक्का गर्न मात्र १ अंकको आवश्यकता थियो। यो जितसँगै बायर्न दोस्रो स्थानभन्दा १५ अंकले अघि रहँदै च्याम्पियन बनेको हो।