KHASOKHAS
कर्मचारीसँगको सम्बन्ध र आत्महत्या प्रकरणपछि अमेरिकी सांसद गोन्जालेसद्वारा राजीनामा
अमेरिकाको टेक्सासका सांसद टोनी गोन्जालेसले पदबाट राजीनामा दिएका छन्। आफ्नै एक कर्मचारीसँगको सम्बन्ध स्वीकार गरेपछि उनले राजीनामा दिएका हुन्। ती कर्मचारी रेजिना सान्तोस अभिलेसले पछि आत्मदाह गरेकी थिइन्।
क्यालिफोर्नियाका डेमोक्र्याट सांसद एरिक स्वालवेलमाथि यौन दुर्व्यवहारको आरोप सार्वजनिक भएपछि गोन्जालेसमाथि पनि राजीनामा दिन दबाब बढ्दै गएको थियो। स्वालवेलविरुद्ध आलोचना बढ्दै जाँदा सांसदहरूले दुवैजनामाथि नैतिक छानबिन सुरु गरेका थिए र उनीहरूलाई कंग्रेसबाट हटाउने विषयमा छलफल थालेका थिए।
पदच्युत हुनबाट जोगिन दुवैले मङ्गलबारदेखि लागू हुने गरी राजीनामा दिएका हुन्। यसरी राजीनामा दिँदा उनीहरूले आफ्नो पेन्सन सुविधा भने कायम राख्न पाउनेछन्।
गोन्जालेसले गत महिना नै नोभेम्बरमा हुने पुनःनिर्वाचनमा उम्मेदवारी नदिने बताएका थिए। तर उनीमाथि थप विवरणहरू सार्वजनिक हुँदै जाँदा र कंग्रेसको नैतिक छानबिन सामना गर्नुपर्ने भएपछि चाँडै पद छोड्न दबाब बढेको थियो।
सुरुमा कुनै गलत काम नगरेको दाबी गर्ने गोन्जालेस विवाहित तथा छ सन्तानका पिता हुन्। उनले पछि विवाहित कर्मचारी रेजिना सान्तोस–अभिलेससँग आफ्नो सम्बन्ध रहेको स्वीकार गरेका थिए।
यसअघि उनले यी आरोपहरूलाई “ब्ल्याकमेल” र आफूलाई हटाउने उद्देश्यले गरिएको आक्रमण भन्दै अस्वीकार गर्दै आएका थिए। सान्तोस–अभिलेसको सन् २०२५ सेप्टेम्बरमा टेक्सासको युवाल्डेस्थित आफ्नै घरनजिकै आत्मदाहका कारण मृत्यु भएको थियो। चिकित्सकीय परीक्षणले उनको मृत्यु आत्महत्या भएको पुष्टि गरेको थियो।
यसैबीच, स्वालवेलले आइतबार क्यालिफोर्नियाको गभर्नर पदको दौडबाट नाम फिर्ता लिएका थिए भने सोमबार राजीनामा दिएका थिए। यद्यपि उनले आफूमाथि लागेका सबै आरोपहरू अस्वीकार गर्दै आएका छन्।
गोन्जालेसले टेक्सासको २३औँ कंग्रेस क्षेत्रका जनताको सेवा गर्न पाएकोमा आफूलाई गौरव लागेको बताएका छन्। दुवै दलका एक–एक सदस्यले राजीनामा दिए पनि कंग्रेसको शक्ति सन्तुलनमा भने कुनै परिवर्तन आएको छैन। संसद्मा रिपब्लिकन दलको बहुमत कायमै छ।