npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

प्रधानमन्त्रीको कुर्सीमा बसेर सुशीला कार्कीले दिइन् फेरि विद्रोहको चेतावनी

अनलाइन टीभी नेपाल 6 hours ago

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले युवालाई मौका नदिए फेरि विद्रोहको चेतावनी दिएकी छन् । राजनीतिक दल र राज्यसत्ताले लोकतन्त्रको नारा कागजमा सीमित राख्दा मुलुकले विद्रोहको समाना गर्दै आउनुपरेको उनको भनाइ छ । ७६औँ प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा बिहीबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले जेनजी विद्रोह भनिएको भदौ २३ र २४ को घटनालाई संविधानलाई संस्थागत गर्न नसक्नुको परिणाम भएको दाबी गरिन् ।

‘प्रजातन्त्र दिवस मनाइरहँदा हामीले आत्मसमीक्षा गर्नैपर्छ कि किन २००७ को उपलब्धि २०१७ मा खोसियो ? किन ०३६, ०४६, ०६२६३ र फेरि २०८२ मा पनि जनता सडकमा उत्रिनुपर्‍यो ? किन यसपटक कलिला जेनजी युवाहरूले पनि गोलीको पर्वाह नगरी आवाज उठाउनुपर्‍यो ?’, उनले भनिन्, ‘उत्तर स्पष्ट छ कि हामीले लोकतन्त्रको नारा भट्यायौँ मात्र, संविधानमा अक्षरका सुन्दर बान्की सजायौँ तर त्यसको लोकतान्त्रिक व्यवहार र संस्कारलाई संस्थागत गरेनौँ, गर्नै चाहेनौँ ।’

जबसम्म भुइँमान्छे उपेक्षित भइरहन्छन्, जबसम्म सीमान्तकृत नागरिक अपमानित भइरहन्छन्, जबसम्म सत्ताको स्वादमा विलासी जीवन बिताइरहनेहरुको हैकम जारी रहन्छ, तबसम्म लोकतन्त्रको आत्मा सुक्दै जाने प्रधानमन्त्री कार्कीले बताइनछ् । निर्वाचनपछि बन्ने सरकारले पनि युवाको आवाजलाई तिरष्कार गरेमा अर्को विद्रोह हुने प्रधानमन्त्री कार्कीको चेतावनी थियो ।

‘म स्पष्ट रूपमा भन्न चाहन्छु, युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन सक्दैन, युवामा ऊर्जा छ, नैतिक क्रोध छ र परिवर्तनको आकांक्षा छ’, उनले भनिन्, ‘उसले नातावाद, कृपावाद र भ्रष्टाचार सहँदैन, त्यो असन्तोषलाई दबाएर होइन, सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्न सक्छ ।’ प्रधानमन्त्री कार्कीले लोकतन्त्रलाई थप सुदृढ बनाउन राजनीतिक दलहरुले व्यवहारमा परिवर्तन ल्याउनैपर्ने पनि बताएकी छन् ।

Read more news from Online Tv Nepal

Explore by Source or Category