npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

वानटाङ खोलामा पक्की पुल निर्माण सुरु

इन्द्र कमल रोक्का 2 hours ago

दमौली। भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण सुरु गरिएको छ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्वअन्तर्गत १३० मिटर लम्बाइको पुल निर्माण सुरु भएको हो ।

पुलको डिजाइन स्वीकृत भएसँगै निर्माण व्यवसायीले नदीको बायाँ किनारतर्फ पुलको जग खन्ने काम सुरु गरेको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए ।

आयोजनाको जलाशयका कारण डुबानमा पर्ने भिमाद–ऋषिङ खण्डअन्तर्गत पर्ने वानटाङ खोलामा स्थायी पुल निर्माणका लागि विसं २०८१ फागुन २८ गते सपना निर्माण प्रालिसँग सम्झौता गरिएको थियो । ठेक्का सम्झौताअनुसार ३० महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

डिजाइन र निर्माण दुवै जिम्मेवारी निर्माण कम्पनीलाई दिइएको छ । पुल निर्माणका लागि मूल्य अभिवृद्धि करसहित रु २३ करोड सात लाखमा ठेक्का सम्झौता भएको हो ।

भिमाद हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न वडामा आवतजावत गर्न प्रयोग हुने यस खोलामा पुल नहुँदा वर्षायाममा स्थानीयलाई आवतजावतमा समस्या हुने गरेको छ ।

वानटाङ सेती नदीको सहायक खोला हो । व्यास नगरपालिका–५ र ऋषिङ गाउँपालिका–१ को सिमानामा निर्माण हुने बाँधका कारण जलाशय बन्ने भएपछि आवागमन सहज बनाउन पुल निर्माण सुरु गरिएको हो ।

Read more news from Kendrabindu

Explore by Source or Category