PalikaNews
काठमाडौँ महानगरले विद्यालयमा ‘साना डाक्टर’ कार्यक्रम सञ्चालन गर्दै
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्ने उद्देश्यले विद्यालयहरूमा ‘साना डाक्टर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रमको सुरुआत चार वटा सामुदायिक विद्यालयमा नमूना रूपमा गरिनेछ ।
बुधबार आयोजित ‘साना डाक्टर सम्बन्धी एकदिने कार्यशाला’मा कार्यक्रमको अवधारणा र सञ्चालन रणनीतिबारे छलफल गरिएको थियो । कार्यशालामा जनप्रतिनिधि, शिक्षा तथा स्वास्थ्य समितिका पदाधिकारी, महानगरपालिकाका शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र हेर्ने विभागीय प्रतिनिधि, विद्यालय नर्स तथा साझेदार संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।
“कार्यक्रम बोझ होइन, आवश्यकता हो”
कार्यशालामा बोल्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्य सचेतना अभिवृद्धि र सहपाठीबीचको सहसिकाइका लागि ‘साना डाक्टर’ कार्यक्रम प्रभावकारी हुने बताईन् । उनले भनिन्,“विद्यालयमा कार्यक्रम लैजाँदा कार्यान्वयन गर्नेलाई बोझ महसुस हुने गरी लैजानु हुँदैन । आवश्यक छ, जसरी पनि कार्यान्वयनमा जानुपर्छ भन्ने तत्परता जगाउनुपर्छ । नतिजा ढिलो देखिए पनि सकारात्मक हुन्छ ।”
उनीले सामुदायिक विद्यालयमा सफल कार्यान्वयनपछि संस्थागत विद्यालयमा पनि कार्यक्रम विस्तार गरिने जानकारी दिईन् ।
किशोर स्वास्थ्य र आत्मविश्वासमा जोड
शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले विद्यालयहरूमा किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम आवश्यक रहेको बताए ।
“विद्यार्थीलाई सकारात्मक प्रतिस्पर्धाका लागि आत्मविश्वासी बनाउनुपर्छ । पुस्तकरहित शुक्रबारका कार्यक्रम प्रभावकारी बनाउन थप मेहनत गर्नुपर्नेछ,” उनले भने, ।
नमूनाबाट सिकेर वृहत योजना
स्वास्थ्य विभागका प्रमुख दिपककुमार के.सी.ले नमूना कार्यक्रमबाट प्राप्त सुझावका आधारमा विस्तृत कार्यक्रम तर्जुमा गरिने जानकारी दिए ।
सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले बालमैत्री स्थानीय शासनअन्तर्गत विद्यालयमा क्लव गठन गरी स्वास्थ्य विभागसँग समन्वयमा काम गरिने बताए ।
शिक्षा अधिकृत केशव ज्ञवालीले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकलाई कार्यक्रमका सूक्ष्म पक्ष बुझाउन सके कार्यान्वयन सहज हुने धारणा राखे ।
विद्यार्थीलाई ‘स्वास्थ्य दूत’ बनाइने
विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वास्थ्यसम्बन्धी तालिम दिएर ‘स्वास्थ्य दूत’का रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको हो । विद्यार्थीले आफू, परिवार र समुदायमा स्वास्थ्य सचेतना फैलाउने लक्ष्य राखिएको छ ।
स्वास्थ्य विभागका मेडिकल अधिकृत डा. दिवश न्यौपानेका अनुसार कार्यक्रममा पाँच मुख्य विषयमा प्रशिक्षण दिइनेछः
तीन महिनासम्म पाठ्यक्रममा आधारित तालिम दिएपछि बाँकी नौ महिना विद्यार्थीहरूले समूहगत रूपमा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नेछन् ।
एक स्वास्थ्य क्लवमा १५ देखि २० जनासम्म विद्यार्थी सहभागी गराइनेछ ।