कांग्रेसको १० बुँदे भिजन : समुन्नत नेपाल र सम्मानित नेपाली
काठमाडौँ। नेपाली कांग्रेसले मुलुकमा सुशासन र समुन्नति कायम गर्ने उद्देश्यका साथ आफ्नो १० बुँदे विस्तृत भिजन सार्वजनिक गरेको छ। बुधबार जनकपुरमा आयोजित एक विशेष समारोहमार्फत ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने मूल नाराका साथ पार्टीले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको हो। ‘बदलियो कांग्रेस, बदलिन्छ देश’ भन्ने उद्घोषसहित सार्वजनिक गरिएको उक्त दस्तावेजमा आगामी पाँच वर्षभित्र नागरिकको जीवनस्तर उकास्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको छ।
कांग्रेसको यो भिजनमा नागरिकको आत्मसम्मानलाई सर्वोच्च प्राथमिकतामा राखिएको छ। जात, धर्म, लिङ्ग वा भूगोलका आधारमा हुने सबै प्रकारका विभेद अन्त्य गरी हरेक नागरिकले शिर ठाडो पारेर बाँच्न पाउने वातावरण निर्माण गर्ने पार्टीको योजना छ। विधिको शासनलाई कडाइका साथ लागू गर्दै शक्ति र पहुँचका आधारमा पाइने विशेषाधिकारको अन्त्य गर्ने संकल्प समेत गरिएको छ। कार्यक्रममा बोल्दै सभापति गगन थापाले भ्रष्टाचार र सरकारी सेवामा हुने ढिलासुस्ती अन्त्य गरी नागरिकले घरमै बसेर सहजै सेवा पाउने प्रबन्ध मिलाउने दाबी गरे।
आर्थिक समृद्धिका लागि निजी क्षेत्रको प्रवर्द्धन र सम्पत्ति सिर्जनालाई प्रोत्साहन गर्ने नीति कांग्रेसले अघि सारेको छ। युवाहरूले स्वदेशमै आफ्नो भविष्य देख्न सक्ने गरी रोजगारीका अवसर सिर्जना गर्ने र वैदेशिक पलायन रोक्ने रणनीति दस्तावेजमा समेटिएको छ। कृषिलाई मर्यादित पेसा बनाउँदै ‘पेटभरि खुवाउने र देशलाई चिनाउने’ किसानको नेपाल बनाउन प्रविधि र बजारको उचित व्यवस्थापन गरिने उल्लेख छ। साथै पर्यटन, ऊर्जा र पूर्वाधार विकासलाई समुन्नतिको मुख्य आधार मानिएको छ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यको दायित्व बढाउँदै ‘ओखती र ओत दिने नेपाल’ को अवधारणा अघि सारिएको छ। उपचारकै कारण कोही नागरिक गरिब हुनु नपर्ने गरी गुणस्तरीय स्वास्थ्य बीमा प्रणाली लागू गर्ने र अभिभावकलाई आर्थिक भार नपर्ने गरी गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्ने लक्ष्य राखिएको छ। नेपालको मौलिक विविधता, भाषा र संस्कृतिको संरक्षण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा देशको स्वाभिमान उच्च राख्ने गरी विदेश नीति अवलम्बन गरिने कुरालाई समेत भिजनमा विशेष जोड दिइएको छ।
* * *
नेपाली कांग्रेसको ध्येय: समुन्नत नेपाल, सम्मानित नेपाली
आदरणीय आमाबुबा, दिदी-बहिनी, दाजुभाइ, जय नेपाल !
नेपाली कांग्रेस “जनता-जनार्दनको बलमा कोही पनि भोको, नाङ्गो वा अशिक्षित नरहने, जीवनलाई सुखी बनाउने कुनै कुराको अभाव नभएको” व्यवस्था ल्याउने महान् ध्येय बोकेर स्थापना भएको पार्टी हो। युग परिवर्तन भए पनि जनतालाई सम्पन्न र सम्मानित बनाउने संघर्षकालीन इतिहासको यही लक्ष्य नै हाम्रो मूल प्रेरणा हो। परिवर्तित समयको चेतनालाई आत्मसात गरेर नयाँ सोच र युवा ऊर्जासहित परिमार्जित भएको नेपाली कांग्रेस विचारमा प्रष्ट र कार्यशैलीमा चुस्त बनेको छ। विगतका थुप्रै ऐतिहासिक उपलब्धिमाथि गर्व गर्दै र समस्त कमी-कमजोरीको अनुभवबाट पाठ सिक्दै हामी देशको अवस्था बदल्ने र देशलाई सम्हाल्ने दृढ प्रतिज्ञाका साथ तपाईंको घरदैलोमा आएका छौँ।
आदर्श र कर्ममा आधारित हाम्रो अबको राजनीतिको एकमात्र उद्देश्य नेपाललाई समुन्नत र नेपालीलाई सम्मानित बनाउनु हुनेछ। यसका निम्ति हामीले हाम्रो परिकल्पनाको नेपाल कस्तो हुन्छ तल सूचीबद्ध गरेका छौँ। यो आगामी पाँच वर्षभित्रै हासिल हुन सक्ने लक्ष्य होइन, हामीले बनाउन चाहेको सुन्दर नेपालको तस्बिर हो। हाम्रो यो प्रतिज्ञापत्रमा प्रस्तुत गरिएका सिद्धान्त, नीति र आगामी पाँच वर्षका कार्यक्रम यही लक्ष्यलाई हासिल गर्ने प्रारम्भिक पाइलाहरू हुन्।
१. सम्मानित भएर बाँच्न पाउने नेपाल
हाम्रो परिकल्पनाको लोकतान्त्रिक नेपालमा हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित हुनेछ। कानूनको परिधिभित्र रही इच्छाअनुसारको काम, पेसा-व्यवसाय गर्न र स्वतन्त्रतापूर्वक जीवनयापन गर्न पाउने हरेक नागरिकको अधिकार सुनिश्चित हुनेछ। देश-विदेश जहाँ भए पनि कुनै पनि नेपाली पहुँचको अभाव वा पहिचानका कारण अपमानित हुने छैनन्।
हामी यस्तो समाजको निर्माण गर्नेछौँ, जुन कुनै पनि बहानामा हुने शारीरिक, मानसिक वा लैङ्गिक हिंसाबाट मुक्त हुनेछ। वंश, जाति वा लिङ्गका आधारमा प्राप्त हुने विशेषाधिकार एवं जन्म भएको परिवार वा स्थानको आधारमा नागरिकको भाग्य निर्धारण हुने अवस्थाको अन्त्य हुनेछ।
जात, धर्म, वर्ण, लिङ्ग, वर्ग वा भूगोलका आधारमा सिर्जना भएका छुवाछुत, विभेद र अवरोधलाई भत्काउँदै हामी प्रत्येक नागरिकले आत्मसम्मानका साथ निर्धक्क बाँच्न र सिर्जना गर्न सक्ने साझा घर र सहिष्णु समाज बनाउने छौँ।
२. सपना देख्न सक्ने नेपाल
हाम्रो परिकल्पनाको नेपाल प्रगति र उन्नतिका सपना देख्ने नागरिकहरूको देश हुनेछ। दिगो आर्थिक विकास, नीतिगत स्थिरता र हैरानीमुक्त सेवा प्रवाह सँगै अग्रज पुस्ताको अनुभव, युवाको नवीन सोच र नागरिकको साझा प्रयत्नले ती सपनाहरू साकार हुनेछन्। राष्ट्रिय नवनिर्माणको भावनाले ओतप्रोत युवाहरू शासन र विकासका साझेदार बन्नेछन्।
उज्यालो भविष्य खोज्ने युवालाई स्वदेशमै परिवारसँगै रमाउँदै मर्यादित र आकर्षक अवसरहरू हुनेछन्, जहाँ उनीहरूको सृजनशीलताको उच्च कदर र प्रोत्साहन हुनेछ। हाम्रो राज्य प्रवास रहेर पौरख र सामर्थ्य खर्चिरहेका नेपालीहरूको पनि अभिभावक हुनेछ। संसारभरि छरिएका नेपालीको भावना, ज्ञान, सीप र पुँजी मातृभूमिको पुनर्जागरणमा जोडिनेछ। हाम्रो देश विदेशिएका नेपालीलाई ‘फर्कन रहर लाग्ने’ र स्वदेशमा रहेकालाई ‘यहीँ सुनौलो भविष्य देखिने’ जीवन्त देश हुनेछ।
३. सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल
आँट गरेर लगानी गर्ने, रोजगारी र सम्पत्ति सिर्जना गर्ने एवं उत्पादनमा जोडिने सबैलाई काँध थाप्ने राज्य हुनेछ। सानादेखि ठूलासम्मका व्यवसाय गर्ने नागरिकलाई राज्यले हरतरहले प्रोत्साहन र साथ दिनेछ। साथै, आर्थिक रूपमा पछाडि परेका नागरिकलाई पनि सम्पत्ति र आय आर्जन गर्न सक्ने गरी सक्षम बनाउनेछ।
श्रमिकको पसिना पवित्र छ, उसको मेहनतको उचित मूल्य, सामाजिक सुरक्षा र सम्मान राज्यको कर्तव्य हुनेछ। राज्यले पारदर्शी र वैध नाफा आर्जनलाई प्रोत्साहित गर्नेछ, तर अवैध तरिकाले सम्पत्ति थुपार्ने र उपभोग गर्ने प्रवृत्तिलाई निर्ममतापूर्वक नियन्त्रण गर्नेछ। आर्थिक स्वच्छता र सदाचारलाई संस्कृतिकै रूपमा अघि बढाउने काम राजनीतिक नेतृत्वले गर्नेछ।
४. पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
हाम्रो परिकल्पनाको नेपालमा किसानहरू सम्पन्न र मुलुकको प्रगतिका मुख्य सारथी हुनेछन्। कृषि पेसा कुनै नागरिकको बाध्यता नभई आधुनिक र मर्यादित छनोट हुनेछ। नेपाली किसानले मुलुकलाई चाहिने स्वास्थ्यकर खाद्यान्न आपूर्ति मात्र गर्ने छैनन्, प्रविधिको उच्चतम प्रयोग, बजारमा सहज पहुँच र आफ्नो उत्पादनको उचित मूल्यको सुनिश्चितता समेत पाउनेछन्।
युवाहरूले कृषिमा आफ्नो भविष्य र भरोसा भेट्नेछन्। राज्यले सिँचाइ र मलको अभाव अन्त्य गर्दै, बीमा र भुक्तानीका सास्ती हटाएर बजार र मूल्य सुनिश्चित गर्नेछ। नेपालको उत्पादनलाई विश्व बजारमा ‘ब्राण्ड’ बनाउने भिजन बोकेका कृषि-उद्यमीहरूलाई राज्यले हरेक पाइलामा साथ दिनेछ।
५. ओखती र ओत दिने नेपाल
हाम्रो परिकल्पनाको नेपालमा गर्भावस्थादेखि वृद्धावस्थासम्म नै नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील र जिम्मेवार हुनेछ। परिवारमा कसैलाई रोग लागिहाले “कसरी उपचार गर्ने” र “अस्पतालको शुल्क कसरी तिर्ने” भन्ने डरबाट नागरिकहरू मुक्त हुनेछन्।
स्वास्थ्य सेवा राज्यले गर्ने परोपकार होइन, “उपचार नागरिकको मौलिक अधिकार” भन्ने मान्यताका आधारमा हरेक नेपालीलाई औषधि र अस्पतालको ओत दिनु राज्यको प्रमुख कर्तव्य हुनेछ। विकसित देशको स्तरको उन्नत स्वास्थ्य बीमा प्रणालीमार्फत राज्यले यो जिम्मेवारी पूरा गर्नेछ।
६. छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
हाम्रो परिकल्पनाको नेपालले शिक्षालाई खर्च होइन, राज्यको सबैभन्दा महत्त्वपूर्ण लगानी मान्दछ। शिक्षाको सर्वसुलभता र पूर्वाधारमा आधारभूत परिवर्तन हुनेछ। आर्थिक अभावका कारण कोही पनि गुणस्तरीय शिक्षा पाउने अधिकारबाट वञ्चित हुने छैन।
शारीरिक पोषण पूरा भएका नानीबाबुहरूमा सिकाइको क्षमता बढ्छ, त्यसैले राज्यले शिक्षासँगै जोडेर पोषणको पनि जिम्मा लिनेछ। सबै किसिमका हिंसा र शोषणबाट मुक्त हाम्रा नानीबाबुले विद्यालय र खेलमैदानमा रमाउँदै बाल्यकाल बिताउन पाउने छन्। प्रि-प्राइमरीदेखि विश्वविद्यालयसम्मको सिकाइलाई प्रविधि र प्रयोगसँग जोड्ने शिक्षालयहरू विद्यार्थीको सृजनशीलता र नवप्रवर्तनको उच्चतम प्रयोग र प्रोत्साहन हुने केन्द्र हुनेछन्।
जीवनोपयोगी ज्ञान, विवेकपूर्ण चेतना र मूल्यमा आधारित शिक्षा प्रणालीले हाम्रा युवालाई विश्वभर प्रतिस्पर्धा गर्न सक्ने बनाउनेछ।
७. बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
आम नागरिकदेखि सत्ताको जुनसुकै ओहदामा बसेका मानिस पनि कानूनको नजरमा समान हुनेछन्। ‘निमुखालाई ऐन र ठूलालाई चैन’ हुने विभेदकारी अवस्थाको अन्त्य हुनेछ। सरकारी सेवाका ढोका सबैका लागि समान रूपमा खुला रहनेछन्।
अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य हुनेछ। स्वच्छ र पारदर्शी छनोट प्रक्रियामार्फत ज्ञान, इमान र क्षमता भएका योग्य एवं संविधानप्रति वफादार नागरिकहरू नियुक्त हुनेछन्।
राज्यका हरेक सेवामा प्रविधिको उच्चतम प्रयोग गर्दै ‘डिजिटल नेपाल’ को अवधारणा साकार पारिनेछ, जसले भ्रष्टाचार र सरकारी ढिलासुस्तीको जरैदेखि अन्त्य गर्नेछ। नागरिकले घरमै बसेर सहजतापूर्वक सरकारी सेवा पाउने छन्। निर्भीकतापूर्वक सरकारसँग प्रश्न गर्न र जवाफ माग्न सक्ने लोकतान्त्रिक वातावरण सुनिश्चित हुनेछ।
८. मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल
हाम्रो विविधता र विशिष्टता नै नेपालको मौलिक पहिचान हो। नेपालका हिमाल, पहाड र मधेसमा बस्ने सबै जातजाति, उनीहरूले बोल्ने भाषा, मान्ने धर्म, परम्परा, संस्कृति, कला र रीतिरिवाजहरूको विविधता नै नेपालको सुन्दर र विशिष्ट पहिचान हो। हाम्रा विविध भाषा, कला, साहित्य, संस्कृति र सम्पदाको संरक्षण हुनेछ। हाम्रो परिकल्पनाको नेपालमा यी सबै विविधता र विशिष्टताहरूको समान रूपमा सम्मान र संवर्द्धन हुनेछ।
यिनै विविधता र विशिष्टताको जगमा उभिएर हामी आधुनिकतासँग कुममा कुम मिलाएर अघि बढ्ने नेपाल निर्माण गर्नेछौँ। विश्व ज्ञान, विश्व अर्थतन्त्र र विश्व संस्कृतिसँग जोडिएको, तर आफ्नो मौलिकतामा गर्व गर्ने नेपाल निर्माण हुनेछ।
९. विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
हाम्रो परिकल्पनाको नेपाल विश्व समुदायमाझ एक सार्वभौम, शान्त र स्वाभिमानी राष्ट्रको रूपमा स्थापित हुनेछ। नेपालको परराष्ट्र नीति राष्ट्रिय हित र सार्वभौमिक समानताको जगमा उभिनेछ।
हाम्रो छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्ध समानता र आपसी सम्मानमा आधारित हुनेछ र यस्तो सम्बन्धलाई पारस्परिक हित र आर्थिक साझेदारीका आधारमा अगाडि बढाउनेछ।
हामी नेपाललाई सगरमाथा, बुद्ध, पशुपति र जानकीको देशका रूपमा मात्र होइन, विश्व समुदायको एक जिम्मेवार र प्रतिष्ठित सदस्यका रूपमा चिनाउनेछौँ। हामी यस्तो नेपाल बनाउने छौँ, जहाँको राहदानीलाई अरुले सम्मान गरून् र हामीले सदैव गर्व गर्न सकौँ।
१०. समुन्नतिमा लम्कने नेपाल
हाम्रो प्रणालीको कार्यसम्पादन क्षमता उत्कृष्ट र परिणाममुखी हुनेछ। सबै योजनाहरूको गति र गुणस्तर विश्वस्तरको हुनेछ। कृषि, पर्यटन, ऊर्जा, आईटी, खेलकुद, यातायातजस्ता क्षेत्रलाई आधुनिक र सबल बनाउँदै अत्यावश्यक पूर्वाधारहरूको द्रुत विकास हुनेछ। हिमाल, नदी, वनजंगल जस्ता हाम्रा अमूल्य प्राकृतिक सम्पदाहरू भावी पुस्ताका लागि सुरक्षित रहनेछन्। हाम्रो अर्थतन्त्र खुला, प्रतिस्पर्धी, प्रविधिमैत्री र पर्यावरणमैत्री हुनेछ, जसले अन्तर्राष्ट्रिय लगानी र प्रविधिलाई आकर्षित गर्नेछ।
हाम्रो परिणाममुखी लोकतन्त्रमा सरकार सत्ताको निरन्तरतामा होइन, जनजीवनमा देखिने प्रत्यक्ष सुधार र उपलब्धिमा केन्द्रित हुनेछ। देश निर्माणको अभियानमा सबै जात, जाति, धर्म, वर्ग, भूगोल र समुदायको सम्मानजनक सहभागिता रहनेछ। समुन्नतिको लाभ सामाजिक न्यायका आधारमा सबै नागरिकले समान रूपमा पाउने अवस्था सुनिश्चित हुनेछ।
सबल, सक्षम, स्वतन्त्र र सम्मानित नेपाली नागरिकको साझा प्रयत्नबाट निर्माण हुने समुन्नत नेपालमा जातीय, भाषिक, क्षेत्रीय लगायतका विविधताको जोडबाट नयाँ भाव सिर्जना भई नेपाली राष्ट्रियता सुदृढ र सबल हुनेछ।