सूर्य नेपाल एनपिजिए म्याच प्ले: निरज र टंक फाइनलमा, कति छ पुरस्कार?
काठमाडौं। साबिक विजेता निरज तामाङ र टंकबहादुर कार्की सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेकोको फाइनलमा प्रवेश गरेका छन्।
रोयल नेपाल गल्फ क्लबमा आज भएको सेमिफाइनलमा नेपाल नम्बर एक निरजले चौथो वरियताका सञ्जय लामालाई सहजै ६/५ ले हराए। नवौं होलको समाप्तिमा निरजसँग दुई होलको अग्रता थियो। यसपछि दशौं, एघारौं, बाहौं र तेर्हौं होल लगातार जित्दै निरजले जित सहजै आफ्नो पक्षमा पारे। सेमिफाइनलमा १३ औँ होलमा जित निकालेका निरजले क्वाटर फाइनलमा नवौं सिडेड रामे मगरलाई २/१ ले हराएका थिए।
अर्को सेमीफाइनल खेलमा छैटौं वरियताका अनुभवी रवि खड्कालाई १०औं वरियताका टंक बहादुर कार्कीले ३/२ ले पछि पार्दै पहिलो पटक म्याच प्लेको फाइनलमा प्रवेश गरेका छन्। नौ होलको समाप्तीमा टंकले तीन होलको अग्रता बनाइसकेका थिए। तर यसपछि रविले दशौं र एघारौँ होल जित्दै अग्रतालाई एक होलमा घटाए। तर यसपछि पुन: टंक खेलमा हाबी हुँदा १६औं होलमा खेल जिते।
उपाधिका लागि निरज र टंकबीच भोलि ३६ होलको प्रतिस्पर्धा हुनेछ। यस्तै तेस्रो स्थानका लागि रवि र सञ्जयबीच १८ होलको खेल हुनेछ।
आजै भएको अन्य क्वाटर फाइनलमा रविले तेस्रो वरियताका दिनेश प्रजापतिलाई प्ले अफको पहिलो होलमा हराएका थिए। यस्तै अर्को क्वाटर फाइनलमा सञ्जय लामाले पाँचौं वरियताका जयराम श्रेष्ठलाई १/० ले पराजित गरेका थिए।
तीन दिने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अर्डर अफ मेरिटका शीर्ष १६ मा रहेका खेलाडीहरूले प्रतिस्पर्धा गरेका छन्। प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख २५ हजार रहेको छ। विजेताले १ लाख प्राप्त गर्नेछ। दोस्रो,तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमश ७५ हजार, ५६ हजार र ४२ हजार प्राप्त गर्नेछन्।
यस्तै क्वार्टरफाइनल पुग्ने चार खेलाडीहरू राम, जयराम, दिनेश र भुवनले १८ हजार प्राप्त गर्नेछन्। पहिलो चरणबाट बाहिरिएका सूर्य प्रसाद शर्मा, भुवन कुमार रोक्का, रमेश अधिकारी, दीपक मगर, बलभद्र राई, धन बहादुर थापा र कृष्णमान राजबाहकले जनही १० हजार प्राप्त गर्नेछन्।
The post सूर्य नेपाल एनपिजिए म्याच प्ले: निरज र टंक फाइनलमा, कति छ पुरस्कार? appeared first on BIZMANDU.