आहा रारा गोल्डकप : यसकारण रोचक हुँदैछ फाइनल
पोखरा- पोखरा रंगशालामा शनिबार हुने २५ औं आहा रारा पोखरा गोल्डकपको उपाधि भिडन्त रोचक हुने भएको छ।
किनकि आयोजक सहारा क्लब पोखरा र जावलाखेल युथ क्लब क्रमशः ९ र १४ वर्षपछि उपाधि भिडन्तमा पुगेका हुन्। यति लामो समयपछि फाइनल पुगेका उनीहरू दुवैले जसरी पनि रजत संस्करणको ट्रफी उचाल्ने दाउमा हुनेछन्।
सहारा क्लब पोखरा आयोजनामा गत २७ माघदेखि सुरु ऐतिहासिक रजत संस्करण आफैँमा पनि महत्त्वपूर्ण छ। १२ टिमले भाग लिएको सो प्रतियोगितामा सर्वाधिक विजेता टिम होस् वा उपाधि दाबेदार मानिएका टिमहरू पाखा लागिसकेका छन्।
शुक्रबार आयोजित प्रि-म्याच कन्फरेन्समा सहारा र जावलाखेलका प्रशिक्षक तथा टिम क्याप्टेनले उपाधि आ-आफ्नो टिमले जित्ने दाबी गरे।
सहाराका प्रशिक्षक सुनिल रानामगर सहाराले १२ औं संस्करणको उपाधि जित्दा म्यानेजर भूमिकामा थिए। उनी आयोजकलाई ९ वर्षपछि दोस्रोपल्ट उपाधि दिलाउन भरमग्दूर लागेका छन्।
प्रशिक्षक रानामगरले भने, ‘१२ वर्षपछि खोला फर्काउने तयारीमा छौँ।’ आयोजकले १२ वर्षअघि १२ औं संस्करणमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले हराउँदै पहिलोपल्ट उपाधि चुमेको थियो।
‘सबैको मनोबल हाइमोरल छ। जति पनि परफमेन्स भयो, त्यसमा स्कोर ननिस्के पनि फाइनलमा स्कोर निकाल्ने एकमात्र उद्देश्य हुनेछ,’ उनले पत्रकार सम्मेलनमा भने।
यसै गरी जावलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले भने, ‘होम टाउनमा आयोजकसँग खेल्दा हामीलाई दर्शकको प्रेसर त पर्छ नै, तर पनि हामी सेटअप गर्छौँ।’
सहाराको टिम पनि राम्रो भएको उनको प्रतिक्रिया थियो। उनले भने, ‘सहारा स्ट्रङ टिम हो। स्ट्रङ भएर नै त्यति राम्रो राम्रो टिमलाई हराएको छ।’
सहाराका क्याप्टेन सुशील लामा र जावलाखेलका किपरसमेत रहेका क्याप्टेन उनेश चौधरीले शनिबारको फाइनल उत्कृष्ट दिने बताए। सहाराका क्याप्टेनको भूमिकामा रहेका सुशील सहारा एकेडेमीका दोस्रो ब्याचका उत्पादन पनि हुन्।
सहाराले उद्घाटन खेलमा गोर्खा इन्टरनेशनल फुटबल क्लबलाई हराउँदै विजयी यात्रा सुरुआत गरेको थियो। सर्वाधिक ६ पल्टका उपाधि विजेताहरु पुलिस फुटबल क्लबलाई क्वार्टरफाइनलमा र मनाङ मर्स्याङ्दी क्लबलाई सेमिफाइनलमा सडन डेथको शिकार बनाउँदै फाइनल पुगेको हो।
उता पहिलो खेलमा मच्छिन्द्र क्लबलाई हराएको जावलाखेलले प्रिक्वार्टरमा चर्च ब्वाइज युनाइटेड र सेमिफाइनलमा आभा फुटबल क्लब, उज्वेकिस्तानलाई पराजित गर्दै उपाधि भिडन्त सुनिश्चित गरेको हो। विजेताले १४ लाख र उपविजेताले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।