देवी बस्तीको त्यो घर
भारत निर्वासनबाट फर्किएपछि बुवा नेपाल आउनुभयो। त्यसबेला देवी बस्तीमा दाइ खनुपुरुदे राम बाबुले दिनुभएको जग्गामा भाइ भरत बाबु (सी.के. प्रसाईं) ले यो घर बनाएर बस्नुभयो।
देवी बस्तीको त्यो घर केवल एउटा आवास मात्र थिएन, त्यो समयको एउटा जीवित दस्तावेज थियो- जहाँ अभावले मानिसलाई कमजोर होइन, अझ दृढ बनाएको थियो। यो घर आमा पदमकुमारी प्रसाईंसँग मिलेर भरत बाबुले बनाउनुभएको थियो। बाहिरबाट हेर्दा काठ र टिनले बनेको देखिए पनि यसको वास्तविक संरचना संघर्ष, अनुशासन र उच्च विचारले उभिएको थियो।
घरको पहिलो तल्लाको पूर्वपट्टिको कोठामा बुवा बस्नुहुन्थ्यो। त्यो कोठा कहिल्यै खाली देखिँदैनथ्यो। मानिसहरूको आवतजावत निरन्तर भइरहन्थ्यो- कसैलाई सल्लाह चाहिएको हुन्थ्यो, कसैलाई भरोसा, त कसैलाई केवल आफ्नो कुरा सुनिदिने मान्छे। बुवाको उपस्थितिले धेरैका लागि एउटा बलियो ढाडसको काम गरेको थियो।
त्यो समय बस्तीमा बिजुली बत्ती पुगेको थिएन। साँझ पर्नासाथ लाल्टिन बालिन्थ्यो। कहिलेकाहीँ पाहुना आउँदा चिया बनाउन चिनी लिन छिमेकीकोमा गएको स्मृति आज पनि मनमा उज्यालो भएर बल्छ। मैले २०४५ सालमा एसएलसी दिँदासम्म पनि गाउँमा बिजुली आएको थिएन। तर अचम्म लाग्छ- घर अँध्यारो हुँदाहुँदै पनि भविष्य कहिल्यै अँध्यारो लाग्दैनथ्यो।
बुवा बस्ने कोठा सधैँ किताबले भरिएको हुन्थ्यो। सिलिगुडीबाट हप्तैपिच्छे नयाँ किताबहरू मगाइन्थ्यो। ती किताब घर आइपुग्दा हामीलाई कुनै ठूलो चाड आएजस्तो लाग्थ्यो। लाल्टिनको मधुरो उज्यालोमा बुवाका आँखाहरू अक्षर पछ्याइरहन्थे- मानौँ उहाँ शब्दभित्रै समयको उत्तर खोजिरहनुभएको होस्।
घरको बीचको कोठा सानो थियो, तर त्यो आफैँमा एउटा पूर्ण पुस्तकालय थियो। बुवाले पढ्नुभएका हरेक पुस्तक क्रमसंख्या दिएर चिटिक्क मिलाएर राखिएको हुन्थ्यो। कुन किताब कहाँ छ भनेर बुवालाई सोधिरहनु पर्दैनथ्यो, उहाँको स्मृतिले नै ठेगाना बताइदिन्थ्यो। त्यो अनुशासन किताबप्रतिको मात्र नभएर जीवनप्रतिकै सम्मान थियो।
घरको दक्षिणपट्टि हजुरआमाको कोठा थियो। त्यहाँ बिहान-साँझ नियमित पूजा हुन्थ्यो। धूप, दियो र मन्त्रको सुगन्धले घरलाई एउटा अदृश्य आध्यात्मिक सूत्रमा बाँधेर राख्थ्यो। त्यो कोठा घरको ‘आत्मा’ जस्तै लाग्थ्यो।
त्यही घरमा बुवा धेरैजसो समय लेखेरै बिताउनुहुन्थ्यो। पञ्चायतकालमा लेखहरू प्रकाशित गर्न सहज थिएन, विचार सार्वजनिक गर्नु चुनौतीपूर्ण थियो। त्यसैले बुवा अबेर रातिसम्म लेखिरहनुहुन्थ्यो- शब्दहरू जन्मिन्थे, तर तिनले बाहिर निस्कन उपयुक्त समय पर्खिनुपर्थ्यो।
आज फर्केर हेर्दा बुझ्छु- देवी बस्तीको त्यो घर केवल बस्ने थलो मात्र थिएन। त्यो एउटा मौन पुस्तकालय, मौन प्रतिरोध र संस्कारको पाठशाला थियो। त्यही घरले मलाई अँध्यारोमा उज्यालो खोज्न सिकायो, अभावमा पनि विचारलाई जोगाउन सिकायो र समयभन्दा अगाडि सोच्ने हिम्मत दियो।
देवी बस्तीको त्यो घर आज पनि मेरो स्मृतिमा उस्तै गरी उभिएको छ- शब्द, पुस्तक र मौनताले बनेको एउटा अमिट संरचनाझैँ।