आगामी आवका लागि बजेट सिलिङ तयार, १९ खर्ब आसपासको बजेट बन्ने
काठमाडौं। राष्ट्रिय योजना आयोगले आगामी आव २०८३/८४ का लागि १९ खर्बको बजेट सिलिङ तय गरेको छ।
आयोगको राष्ट्रिय स्रोत अनुमान समितिले तय गरेको बजेट सिलिङसहित मध्यकालीन खर्च संरचना अर्थ मन्त्रालयमा पठाएको छ।
यही सिलिङअनुसार अर्थले अन्य मन्त्रालयहरूलाई बजेटको सीमा पठाउने प्रक्रिया अगाडि बढाउँछ। अहिले तय गरिएको बजेट सिलिङअनुसार आगामी आवमा बजेटको आकार घट्ने भएको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले उपलब्ध हुने स्रोत र गर्न सकिने खर्चको सीमाभित्र रहेर सिलिङ तय गरिएको बताए। ‘ठूलो बजेट ल्याउने तर खर्च गर्न नसकिने हुँदा संस्थागत क्षमता अनुसारको बजेट ल्याउने प्रयास थालिएको छ,’ उनले भने।
आगामी आवमा ७२ खर्ब बराबर जीडीपी पुग्ने अनुमान गरिएको छ। चालु आवका लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याइएको थियो। तर कार्यान्वयन हुन नसक्ने भन्दै अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री रामेश्वर खनालले १६ खर्ब ८८ अर्बमा झारेका छन्। राजस्व संकलनको लक्ष्य १२ खर्ब ९८ अर्ब तय गरिएको छ।
The post आगामी आवका लागि बजेट सिलिङ तयार, १९ खर्ब आसपासको बजेट बन्ने appeared first on BIZMANDU.