सञ्चारिक समूह गण्डकीको अध्यक्षमा राधिका सर्वसम्मत
पोखरा । सञ्चारिक समूह गण्डकीको अध्यक्षमा राधिका शर्मा कँडेल निर्वाचित भएकी छिन् ।
पोखरामा सोमबार भएको समूहको सातौं अधिवेशनबाट कँडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा कञ्चन थापा कोइराला, महासचिवमा उमा आलेमगर र सचिवमा चन्द्रिका घिमिरे (अनिता), कोषाध्यक्षमा बालकुमारी पौडेल (तारा) निर्वाचित भएकी छिन् ।
समितिको सदस्यमा शोभा नेपाल, रिना थापा (तानी), कृष्ण श्रेष्ठ (रोजी), विनाकुमारी थापा, सपना अधिकारी र देविका तामाङ निर्वाचित भएको निर्वाचन समितिका संयोजक हुमबहादुर तमुले जानकारी दिए ।

सोमबार भएको अधिवेशनको उद्घाटनपछि राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त दुर्गा भण्डारीले महिला अधिकार र समानताका सवालमा खुलेर आवाज उठाउनुपर्नेमा जोड दिइन् । महिलाहरुले अझै पनि समाजमा विभेद, हिंसा र अन्याय सहनुपरेको बताउँदै यसका विरुद्ध आवाज उठाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी, नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष रमेश पौडेल, सञ्चारिक समूहकी अध्यक्ष कमला पन्थी, उपाध्यक्ष बसन्ती बास्तोलालगायतले महिला पत्रकारसँगै समग्र महिलाहरुको हक हित र अधिकारका लागि एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन समूहका कोषाध्यक्ष उमा आले मगरले गरेकी थिइन । महासचिव र कोषाध्यक्षको प्रतिवेदन सभाले पारित गरेको थियो ।