‘टुप्पोबाट पिपल पलायो’ : सार्वजनिक सम्पत्ति, इतिहास र चेतनाको प्रश्न
आज महान् प्रजातान्त्रिक समाजवादी चिन्तक सीके प्रसाईँको स्मृति दिवस हो । यस्तो अवसरमा कृष्ण धरावासीले २०४५ साल जेठमा ‘साप्ताहिक विचार’को ‘मुक्तपातो’ स्तम्भमा लेखेको “टुप्पोबाट पिपल पलायो” शीर्षकको लेख केवल एउटा घरको कथा होइन, यो त राष्ट्र, सार्वजनिक सम्पत्ति र हाम्रो सामूहिक चेतनाको ऐना हो ।
धरावासीले एउटा ऐतिहासिक घरको छतमा उम्रिएको पिपललाई प्रतीक बनाएर समाजको गहिरो कमजोरीतर्फ सङ्केत गरेका छन् । लेखको केन्द्रमा एउटा प्रश्न उभिएको छ- देशको नाममा आएको सम्पत्तिको संरक्षण किन हुँदैन ?
देशप्रेम भाषण होइन, संस्कार हो
धरावासीको पहिलो चोटिलो निष्कर्ष यही हो कि देशप्रेम केवल भाषणमा सीमित हुँदा त्यो खोक्रो हुन्छ । देशप्रेमको वास्तविक रूप सार्वजनिक सम्पत्तिको माया र संरक्षणमा प्रकट हुन्छ । लेखमा भनिएको छ- “देशलाई माया गर्ने संस्कार नबसेसम्म सार्वजनिक सम्पत्तिको माया हुँदैन ।”
यो वाक्य आज पनि उत्तिकै सान्दर्भिक छ । हामी देशलाई भावनात्मक रूपमा त माया गर्छौँ, तर राष्ट्रको सम्पत्ति बिग्रिँदा, ढल्दा वा नष्ट हुँदा मौन बस्छौँ । यही मौनता हाम्रो राष्ट्रिय चेतनाको दुर्बलता हो ।
‘निशी निवास’ : एउटा घर होइन, इतिहासको अवशेष
अनारमनी माध्यमिक विद्यालय छेउको त्यो घर, जसलाई कहिल्यै ‘निशी निवास’ भनिन्थ्यो, केवल एउटा भवन होइन । त्यो घर सीके प्रसाईँसँग जोडिएको राजनीतिक इतिहासको प्रतीक हो ।
राज्यले कानुनअनुसार सीके प्रसाईँको सर्वस्व हरण गरेपछि त्यो घर सरकारी सम्पत्तिमा परिणत भयो । तर प्रश्न उठ्छ- यदि त्यो घर राष्ट्रको भयो भने राष्ट्रले त्यसको जिम्मा किन लिएन ?
धरावासी स्पष्ट भन्छन्- त्यहाँ सार्वजनिक संस्था राख्न सकिन्थ्यो, विद्यालयलाई हस्तान्तरण गर्न सकिन्थ्यो, संरक्षण गर्न सकिन्थ्यो। तर केही भएन । यसले देखाउँछ कि राज्यसँग सम्पत्ति कब्जा गर्ने शक्ति त छ, तर संरक्षण गर्ने संस्कार छैन।
छतमा उम्रिएको पिपल : उपेक्षाको प्रतीक
छतमा उम्रिएको पिपल केवल वनस्पति होइन । त्यो उपेक्षाको परिणाम हो । अपुताली परेको घरमा रुख उम्रिनु स्वाभाविक हो, तर राष्ट्रको स्वामित्वमा आएको घरमा पिपल उम्रिनु भनेको राज्यको असफलता हो ।
धरावासीको प्रश्न अत्यन्त गम्भीर छ- “देशको हकमा आइसकेको घरको छतमा पिपल किन उम्रिन्छ ?” यस प्रश्नले हाम्रो प्रशासनिक चरित्रलाई कठोर रूपमा चुनौती दिन्छ ।
इतिहासलाई मन्दिर बनाउने विडम्बना
पिपललाई हिन्दु शास्त्रमा विष्णुको अवतार मानिन्छ, त्यसलाई काट्न हुँदैन । त्यसैले लेखक व्यङ्ग्यात्मक रूपमा सोध्छन्– के त्यो घर अब मन्दिर बन्ने हो ? जहाँ इतिहासलाई पूजा गरिन्छ तर संरक्षण हुँदैन ?
यो विडम्बना हो- हामी ऐतिहासिक सम्पत्तिलाई बचाउन सक्दैनौँ, तर भग्नावशेषलाई धर्म र पूजामा परिणत गरेर भावनात्मक बनाउँछौँ ।
सीके प्रसाईँको बलिदान र संस्थाको पतन
लेखको सबैभन्दा मार्मिक अंश यही हो- “सीके बाबु ! तपाईं हेर्नुहोला त्यो घर लड्दैछ, जसरी जुन संस्थाको लागि तपाईंले सर्वस्व गुमाउनुभयो त्यो लड्दैछ ।”
यो केवल घर ढलिरहेको कुरा होइन । यो त एउटा राजनीतिक आदर्श, एउका आन्दोलन र एउटा मूल्य प्रणाली ढलिरहेको सङ्केत हो । सीके प्रसाईँले जुन आस्थाका लागि सर्वस्व त्यागे, त्यही आस्था राज्य र समाजको उपेक्षाले कमजोर हुँदै गएको छ ।
आजको सन्देश : राष्ट्रिय सम्पत्तिप्रतिको चेतना
धरावासीले अन्त्यमा अत्यन्त महत्त्वपूर्ण निष्कर्ष निकाल्छन्- “विकसित मुलुकको मूल चरित्र राष्ट्रिय सम्पत्तिप्रतिको सजगता हो । हाम्रो मूल चरित्र केप्रतिको सजगता हो ?”
यो प्रश्न आज पनि उत्तर खोजिरहेको छ । हामी कुन कुराप्रति सजग छौँ ? सत्ता, स्वार्थ, दल, गुट कि देश ?
निष्कर्ष
“टुप्पोबाट पिपल पलायो” लेख एउटा सानो घटनाबाट उठेको ठुलो राष्ट्रिय विमर्श हो । यसले सिकाउँछ-
राष्ट्रको सम्पत्ति सबैको जिम्मेवारी हो ।
इतिहास संरक्षण नगरे समाजको चेतना कमजोर हुन्छ ।
सार्वजनिक सम्पत्तिप्रतिको उपेक्षा राष्ट्रप्रतिको उपेक्षा हो ।
सीके प्रसाईँको स्मृतिमा यो लेखले हामीलाई सम्झाइरहेको छ- देशप्रेम केवल आदर्श होइन, संरक्षण र जिम्मेवारीको संस्कार हो ।
* * *
कृष्ण धरावासीको मूल लेख
टुप्पोबाट पिपल पलायो
-
देशलाई माया गर्ने संस्कार नबसेसम्म सार्वजनिक सम्पत्तिको माया हुँदैन।
-
देश पनि एउटा सार्वजनिक सम्पत्तिकै नाम हो। भाषणको देश प्यारो भए पनि दुर्भाग्य यस्तो छ- देश सोच्ने बौद्धिकताको कहालीलाग्दो अनिकाल छ।
-
अपुताली परेको घरको छानोमा रुख उम्रिन्छ यदि त्यसको हकवाला कोही छैन भने, तर देशको हकमा आइसकेको घरको छतमा पिपल किन उम्रिन्छ? यो मैले बुझेको छैन।
-
अनारमनी मा.वि. को छेउमा एउटा इतिहासजस्तो घर छ, जसको छतमा पिपल उम्रेको छ र त्यो चाँडै लड्दैछ। त्यस घरका बारेमा जान्नेहरू धेरै छन्। धेरैलाई थाहा छ- एकपल्ट ‘निशी निवास’ भनेर त्यो घर चिनिन्थ्यो। त्यो घर एउटा कांग्रेसी नेताको स्वामित्वमा थियो- सीके प्रसाईँ।
-
जुनसुकै मुलुकको पनि आफ्नो कानुन हुन्छ। कानुनअनुसार सीके प्रसाईँको सर्वस्वहरण हुँदा त्यो घर सरकारी सम्पत्तिमा परिणत भयो। ठिकै छ, व्यक्तिको सम्पत्ति राष्ट्रको भयो केही बिग्रिएन, तर त्यो घरबाट आउने कांग्रेसी हरक अझै यथावतै पो छ कि कसो हो? त्यसको संरक्षण कहिल्यै भएन किन? त्यहाँ कुनै सार्वजनिक संस्था राख्न सकिन्थ्यो, विद्यालयलाई हस्तान्तरण गर्न सकिन्थ्यो। बनेको वस्तुको संरक्षण हुन्थ्यो। यी सब हुनु जरुरी नभए त्यसलाई भत्काएर जमिनमा आलु नै रोपे पनि अनुचित हुने थिएन।
-
कांग्रेसको नाममा वृक्षारोपण गर्न समेत प्रतिबन्ध छ, कतै कांग्रेसले छोडेको त्यो घरको छतमा बी.पी. उम्रेका त होइनन्?
-
मुलुकको नाममा आएको जुनसुकै सम्पत्तिको संरक्षण हुनुपर्छ। त्यसको दुरुपयोग हुनुभएन। आएको जुनसुकै तरिकाले होस्- त्यसको स्याहार हुनुपर्छ। आयु पुगेपछि त मान्छे पनि ढल्छ, धरहरा पनि भत्कियो, त्यो त समयको कुरा हो।
-
पिपल भनेको विष्णुको अवतार मानिन्छ हिन्दु शास्त्रमा। पिपललाई मास्नु हुँदैन। तीनतले घरको छतमा मान्छेभन्दा ठुला पिपलका बोटहरू कसरी हुर्किए होलान्? के अब त्यो घर कुनै मन्दिर हुने हो? जहाँ पिपल पुज्न झुम्मिन्छन् भक्तजनहरू? त्यसो भए इतिहासलाई विधिले जसरी पनि पूजनीय बनाएरै छोड्छ कि कसो हो? त्यो घर यदि मन्दिर भयो भने त्यसको इतिहासप्रतिको आस्था कसरी बढ्नेछ भविष्यमा?
-
जेहोस्, यदि मर्मत गरिहाल्नुपर्ने होइन भने त्यसको सदुपयोग भइरहनुपर्छ।
-
सीके बाबु! तपाईं हेर्नुहोला त्यो घर लड्दैछ- जसरी जुन संस्थाका लागि तपाईंले सर्वस्व गुमाउनुभयो, त्यो लड्दैछ।
-
सत्ताका निम्ति विचार बाझिन सक्छ तर मुलुकका लागि आस्था कुण्ठित हुनुहुँदैन। मुलुकको सम्पत्ति सार्वजनिक सम्पत्ति हो। सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने चेतना नभए मुलुकको सुरक्षाको आदर्श कसरी पलाउन सक्छ?
-
विकसित मुलुकको मूल चरित्र राष्ट्रिय सम्पत्तिप्रतिको सजगता हो।
-
हाम्रो मूल चरित्र केप्रतिको सजगता हो?
(२०४५ जेठमा साप्ताहिक विचारको ‘मुक्तपातो’ स्तम्भमा- वर्ष ५, अङ्क २५, २०४५ जेठ १४ गते प्रकाशित)।