अबुधाबीस्थित नेपाली दूतावासले मनायो प्रजातन्त्र दिवस
काठमाडौँ- नेपाली राजदूतावास अबुधाबीले विभिन्न कार्यक्रमको गरी ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ।
राजदूत, राजदूतावासका कर्मचारी, यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि तथा विभिन्न पेसा र व्यवसायमा आबद्ध नेपालीहरूको उपस्थिति दूतावासले बिहीबार प्रजातन्त्र दिवस मनाएको हो। राष्ट्रिय गान र सहिदहरूप्रति मौन धारण गरी सुरु भएको सो कार्यक्रममा करिब १०० जनाको उपस्थित थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत तेजबहादुर क्षेत्रीले २००७ फागुन ७ गते १०४ वर्षीय जहानीयाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना हुनु नेपाली इतिहासको एक गौरवपूर्ण उपलब्धि भएको स्मरण गराए। उनले विभिन्न राजनीतिक आन्दोलनहरूकै कारण देशमा लोकतान्त्रिक गणतन्त्र र समावेशी संविधान सम्भव भएको चर्चा गर्दै अहिले नेपाली नागरिकहरू आफ्ना हक र अधिकारको प्रयोगमा पूर्ण रूपमा सार्वभौमसत्ता सम्पन्न भएको उल्लेख गरे।
राजदूत क्षेत्रीले देश अहिले विकास, सुशासन र समृद्धिको मार्गमा अघि बढिरहेको बताउँदै प्रवासमा रहेका नेपालीहरूलाई पनि राष्ट्रिय एकता र सहकार्यका साथ देशप्रतिको दायित्व पूरा गर्न आह्वान गरे। उनले नेपालको राजनीतिक परिवर्तनमा प्रवासी नेपालीहरूको भूमिकाको प्रशंसा गर्दै प्राप्त उपलब्धिहरूको रक्षा र मुलुकको आर्थिक उन्नतिको लागि सधैं खबरदारी गर्नुपर्नेमा जोड दिए।

दूतावासकी तृतीय सचिव सोनिया डोटेलले सञ्चालन गरेको उक्त समारोहमा नेपालको प्रजातान्त्रिक विकासक्रम सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिनुका साथै राष्ट्रप्रेमले भरिएका कविताहरू समेत वाचन गरिएको थियो।
साथै दूतावासले तीन दिनसम्म साँझ दीपावली गर्ने पनि निर्णय गरेको छ।