npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

म्याग्दीका मतदाता भन्छन् : अब भाषण होइन, योजना र सुशासन हेरेर भोट दिन्छौँ

पालिका ब्यूरो 1 week ago

म्याग्दी, – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा म्याग्दीका मतदाताले उम्मेदवारबारे आफ्नो धारणा बनाउन थालेका छन् । विगतमा झैँ भाषण, आरोप–प्रत्यारोप र आश्वासन बाँड्ने प्रवृत्तिभन्दा अब सुशासन, विकास र रोजगारीमार्फत भविष्य निर्माणको स्पष्ट योजना भएका उम्मेदवारलाई मतदान गर्ने युवा मतदाताको भनाइ छ ।

सहरी क्षेत्रदेखि ग्रामीण बस्तीहरूसम्म मतदातामा काम गर्ने, समाज जोड्ने र विश्वास कायम गर्ने नेतृत्व रोज्ने धारणा बलियो बन्दै गएको बेनीका युवा मतदाता भवि शर्माले बताए ।

उनी भन्छन् , “विगतदेखि नै उम्मेदवारले झुटा आश्वासन र विकासे नारामा लोभ्याउँदै आएका छन् । तर यसपटक त्यस्तो हुँदैन । देशका समस्या समाधान गर्ने स्पष्ट योजना भएको उम्मेदवारलाई रोज्छौँ ।”

“समाज भाँड्ने राजनीति अब स्वीकार्य छैन”

बेनी नगरपालिका–२ का मतदाता पूर्णबहादुर खत्री समाजमा विग्रह ल्याउने र गलत कुरा गरेर मत बटुल्ने सोचविरुद्ध आफू रहेको बताउछन् ।

“हरेक चुनावमा सपना बाँडिन्छ, तर काम देखिँदैन । अब समाजलाई भ्रमित बनाउने र झुट्टा आश्वासन दिने उम्मेदवारलाई भोट दिँदैनौँ,” उनले भने, ।

कृषि र रोजगारी प्राथमिक मुद्दा

मङ्गला गाउँपालिका–५ का किसान हरिकृष्ण पौडेलले कृषि क्षेत्रको विकासको स्पष्ट खाका ल्याउने दल र उम्मेदवारलाई सहयोग रहने बताए , ।

उनका अनुसार मल, सिँचाइ, सडक र बजारको व्यवस्था जस्ता आधारभूत आवश्यकतामा ध्यान दिने उम्मेदवारलाई मात्रै मत दिने योजना छ ।

खत्रीले थपे“जात र दलको कुरा गरेर समाज भाँड्ने राजनीति अब स्वीकार्य छैन । यस्तो प्रवृत्तिलाई भोट जाँदैन ।”

१२ उम्मेदवार मैदानमा

म्याग्दीमा राजनीतिक दल तथा स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सबै उम्मेदवार हाल घरदैलो अभियानमार्फत मतदातासमक्ष आफ्ना योजना प्रस्तुत गरिरहेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले विकास र सुशासन नै आफ्नो मुख्य एजेन्डा भएको बताए , ।

“विभाजनको राजनीति होइन, सबैलाई समेटेर विकास गर्ने सोचमा हामी प्रतिबद्ध छौँ,” उनले भने, ।

नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले पनि गरिब, किसान र युवाका मुद्दा संसद्मा बलियो रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे , ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुनबहादुर थापाले अधुरा विकास योजना पूरा गर्नु प्राथमिकता भएको बताए ।

महावीर पुन : “परम्परागत राजनीतिभन्दा फरक काम गर्छु” शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका महावीर पुनले आफू परम्परागत राजनीतिभन्दा फरक रहेको दाबी गरे ।

“जनताले पुरानो शैली अस्वीकार गरिसकेका छन् । पारदर्शिता, जवाफदेहिता र परिणाममुखी काम नै मेरो पहिचान हुनेछ,” उने भने ।

चेतनाले निर्वाचन मूल्याङ्कनमा आधारित हुने संकेत

माउन्ट एभरेष्ट आवासीय माविका प्रधानाध्यापक राजु केसीका अनुसार मतदातामा बढ्दो चेतनाले यसपटक निर्वाचन भावनाभन्दा मूल्याङ्कनमा आधारित हुने संकेत देखिएको छ ।

मुख्य मुद्दा : सडक, कृषि, स्वास्थ्य र रोजगारी

मतदाताले कालीगण्डकी करिडोर कालोपत्र, सडक निर्माण, खानेपानी, शिक्षा, कृषि प्रवद्र्धन, सुलभ स्वास्थ्य सेवा र रोजगारीलाई मूल्याङ्कनको आधार बनाउने बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता छन् । निर्वाचनका लागि जिल्लामा ८२ मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।

Read more news from PalikaNews

Explore by Source or Category