ओली भेट्न अस्पताल पुगे प्रचण्ड, होला त सहकार्यको सुरुवात ?
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ ५ः१५ बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए । पत्थरीको अप्रेशनपछि उपचाररत् ओलीसँग प्रचण्डले करिब ३० देखि ४० मिनेटसम्म कुराकानी गरे ।
एमाले सचिव पद्मा अर्यालले प्रचण्डको भेटलाई स्वास्थ्य लाभको शुभकामनासँग जोड्दै “उहाँ स्वास्थ्यलाभको कामना गर्न आउनुभएको हो” भन्ने स्पष्टोक्ति दिए पनि, दुवै पार्टीबीच सहकार्यको चर्चा चर्किरहेको बेला यो भेटलाई राजनीतिक रूपमा अत्यन्त अर्थपूर्ण मानिएको छ ।
स्रोतका अनुसार, भेटअघि एमालेका दुई जना पदाधिकारीले ओलीको सन्देश बोकेर नेकपाका शीर्ष नेताहरू प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमसँग करिब चार घण्टा लामो छलफल गरेका थिए ।
छलफलमा आगामी दिनमा दुवै पार्टीबीचको सहकार्य र सम्भावित एकीकरणका विषयमा गम्भीर कुराकानी भएको बताइएको छ । त्यसपछि प्रचण्ड सिधै अस्पताल पुगेर ओलीसँग प्रत्यक्ष संवादमा जुटेका थिए । आज (शुक्रबार) फेरि एमालेका एक पदाधिकारीले प्रचण्डलाई भेटेका छन् र दुवै पार्टीबीचको सहकार्यबारे थप छलफल भएको स्रोतले जनाएको छ ।
ओली निकट एक एमाले नेताका अनुसार प्रचण्डले स्वास्थ्य लाभको कामना गरेका थिए भने दुवै नेताबीचको कुराकानी मुख्य रूपमा राजनीतिक सहकार्य केन्द्रित रहेको बुझिन्छ ।
एमाले र नेकपाबीच एकीकरण वा ठोस सहकार्यको सम्भावना बढ्दै गएको यो समयमा अस्पतालको बेडमै भएको यो भेटलाई दुवै पक्षले ‘औपचारिक’ भेटका रूपमा प्रस्तुत गरे पनि, यसलाई राजनीतिक वृत्तले ‘निर्णायक संकेत’ का रूपमा हेरिरहेको छ ।