प्रमोद खरेलको ‘याद’मा माया र भावनाको गहिरो स्पर्श
काठमाडौँ। गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत ‘याद’ सार्वजनिक भएको छ।
गीतकार रिमा श्रेष्ठले रचना गरेको यो गीतमा सम्झना‚ माया र भावनाको गहिरो स्पर्श महसुस गर्न सकिन्छ। गीतको म्युजिक भिडियो रिमा श्रेष्ठको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। “हामीले यो गीतमा आफ्नो पूरै मन र आत्मा खन्याएका छौँ‚” रिमाको भनाइ छ।
पाश्वगायक प्रमोदको भावपूर्ण स्वरले गीतलाई जीवन्त र हृदयस्पर्शी बनाएको छ। रवीन्द्र पौड्याल रिभेरीले गीतमा संगीत भरेका छन्। संगीत संयोजन तथा एरेन्जमेन्ट गोपाल रसाइलीले गरेका हुन्। भिडियोमा उत्कृष्ट कलाकारको अभिनयले दर्शकलाई बाँधिराख्छ। भिडियोमा प्रमुख भूमिकामा डा. सुभाषप्रसाद आचार्य‚ रवीन्द्र पौड्याल रिभेरी र कृतिका बस्नेत फिचरिङ छन्। म्युजिक भिडियोको निर्देशन सोनम पाख्रिनले गरेका हुन्।
भिडियोमा कलाकारको जीवन्त अभिनयले दृश्यहरूलाई कलात्मक र भावुक बनाएको छ। दिनेश पराजुलीले छायांकन गरेको म्युजिक भिडियोको सम्पादन भने विकास दाहालले गरेका हुन्। यसैगरी मेकअप तथा हेयरस्टाइलिङ पुनम चौधरीको छ भने प्रोजेक्ट म्यानेजमेन्ट दिपेन गौतम माइकलको छ।
प्रमोद खरेल नेपाली लोक तथा आधुनिक संगीतका चर्चित नाम हुन्, जो नेपाली दर्शक-स्रोताबीच लोकप्रिय छन्। गीतबाट रिमा पनि प्रतिभाशाली गीतकारका रूपमा प्रस्तुत भएको देखिन्छ। गीत रिलिजसँगै सामाजिक सञ्जालहरूमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ।