npl.977 Nepal News Stream

RONB post logo RONB post

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

RONB Post 1 day ago

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ। आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको आयोजनाले जनाएको छ।

मुख्य सुरुङको लम्बाइ १ हजार १२६ मिटर रहेको छ, जसको निर्माण कार्य सम्पन्न भइसकेको छ। यससँगै १५१, १६१ र १३० मिटर लम्बाइका तीनवटा पाइपास सुरुङको निर्माण पनि पूरा भएको छ।

सुरुङसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण, रिटेनिङ वाललगायतका संरचना भने निर्माणाधीन अवस्थामा छन्। समग्रमा आयोजनाअन्तर्गत २ हजार ३९८ मिटर सडक स्तरोन्नति गर्नुपर्नेछ।

हाल सञ्चालनमा रहेको सडकलाई पहिरो तथा ढुंगा झर्नबाट सुरक्षित बनाउन ७८० मिटर लम्बाइ, ३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइको रक सेड निर्माण गर्न बाँकी रहेको छ। मुख्य सुरुङबाट सवारी साधन सञ्चालनमा आएपछि मात्र रक सेड निर्माण सुरु गरिने आयोजनाले जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार सुरुङ निर्माणस्थलको अनुगमन गर्दै निर्माण कार्यलाई तीव्रता दिई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मासहित आयोजनास्थल पुग्नुभएका मन्त्री घिसिङले आयोजना र निर्माण व्यवसायीबीच निरुपण हुन बाँकी विषयहरू तत्काल टुंग्याउन निर्देशन दिए । समयमै निर्णय नहुँदा निर्माण कार्यमा ढिलाइ हुन नहुने उनको जोड थियो।

‘साइट समयमै उपलब्ध गराउन नसकिएको, वन कटानमा ढिलाइ भएको, अग्रिम भुक्तानी ढिला गरिएकोजस्ता काबू बाहिरका कारण देखाउँदै निर्माण व्यवसायीले १९ महिना म्याद थपको माग गरेको रहेछ,’ मन्त्री घिसिङले भने, ‘यस विषयमा आयोजना, परामर्शदाता र निर्माण व्यवसायी बसेर तत्काल निर्णय गर्नुपर्छ। निर्णय नगरेर आयोजनाको काम कुनै पनि हालतमा प्रभावित हुन दिनु हुँदैन।’

इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडलमा सुरुङ निर्माणका लागि २०७८ फागुन २५ गते चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग करसहित ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०८३ चैतभित्र सुरुङ निर्माण सम्पन्न गर्नुपर्नेछ।

निर्माण सम्पन्नपछि कम्पनीले १ हजार ८२५ दिन सुरुङ सञ्चालन तथा मर्मतसम्भारको जिम्मेवारी लिनेछ। सुरुङ मार्ग नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण भइरहेको हो।

सिद्धबाबा क्षेत्रमा वर्षायाम र हिउँद दुवै समयमा ढुंगा खस्ने, माटो बग्ने तथा सुख्खा पहिरो जाने समस्याका कारण बारम्बार दुर्घटना हुँदै आएको छ। वर्षायाममा समस्या झन् जटिल बन्ने र घण्टौंसम्म सवारी आवागमन अवरुद्ध हुने गरेको छ।

यी समस्याको दीर्घकालीन समाधानका लागि सिद्धबाबामा सुरुङ मार्ग निर्माण थालिएको हो। सुरुङ सञ्चालनमा आएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि सुरक्षित र भरपर्दो आवागमन सुनिश्चित हुने, यात्रा समय र दूरी घट्ने, साथै दुर्घटना तथा सवारी सञ्चालन खर्चसमेत कम हुने अपेक्षा गरिएको छ।

The post सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category