अपराजित आर्मी फाइनलमा सुदूरपश्चिमलाई हराउँदै बन्यो प्रधानमन्त्री कपको च्याम्पियन
काठमाडौं। त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कपको च्याम्पियन बनेको छ। आज सम्पन्न प्रतियोगिताको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै आर्मी च्याम्पियन बनेको हो।
वीरगंजमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ३९.४ ओभरमा अलआउट हुँदै १६१ रन बनाएको थियो। शीर्षक्रमका पाँच ब्याटरले दोहोरो अंकको रननै नबनाइ पभेलियन फर्किँदा १०.३ ओभरमा ३१-५ को अफ्ठेरो स्थितिमा सुदूरपश्चिम पुगिसकेको थियो। तर, त्यसपछि भने किरण ठगुन्ना, नारायण जोशी र अशोक धामीले संयमित ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए। धामीले सर्वाधिक ४३ रन बनाउँदा ठगुन्नाले ३५ तथा जोशीले २९ रन बनाए।
प्रभावशाली बलिङ गरेको आर्मीका लागि आकाश चन्द र सहाब आलमले समान ३ विकेट लिँदा बसीर अहमदले २ तथा कुशल मल्लले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। आर्मीका लागि इमरान शेखले सर्वाधिक अविजित ४६ रन बनाउँदा बसीर अहमदले ४५ तथा तृतराज दासले ३१ रन बनाए। बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिँदा विकाश अगारी, शेर मल्ल र अशोक धामीले समान १ विकेट लिए।
आर्मी यो प्रतियोगितामा एउटै हार नब्यहोरी च्याम्पियन बन्न सफल भएको हो।
The post अपराजित आर्मी फाइनलमा सुदूरपश्चिमलाई हराउँदै बन्यो प्रधानमन्त्री कपको च्याम्पियन appeared first on BIZMANDU.