सेयर बजारमा पोर्टफोलियो बढाउँदै बीमा कम्पनी, एक वर्षमा थपे सवा १९ अर्ब लगानी
काठमाडौं। सेयर बजारमा बीमा कम्पनीले आक्रामकरुपमा लगानी बढाएका छन्। बैंकको ब्याजदर निरन्तर ओरालो लागेका कारण लगानीको नयाँ उपकरण नपाएपछि बीमा कम्पनीले सेयर बजारमा लगानी बढाएका हुन्।
चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीले सेयर बजारमा ५२ अर्ब ४८ करोड रुपैयाँ लगानी गरेका छन्। कम्पनीले सेयर बजारमा एक वर्षमा ५७.७८ प्रतिशतले लगानी बढाएका हुन्।
पोहोर पुससम्म जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीले सेयर बजारमा ३३ अर्ब २६ करोड २७ लाख रुपैयाँ लगानी गरेकामा त्यसयताको एक वर्षमा १९ अर्ब २१ करोड ७७ लाख रुपैयाँ थपिएको छ।
यो वर्ष पुससम्म जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीको कुल लगानी ८ खर्ब ७१ अर्ब ९४ करोड ६२ लाख रुपैयाँ पुगेकामा त्यसको ६.०१ प्रतिशत पैसा सेयर बजारमा हालेका छन्।
बैंकहरू ब्याजदर निरन्तर घटाउँदा मुद्दती निक्षेपले लागत धान्न नसक्ने देखिएपछि बीमा कम्पनीले सेयर बजारमा लगानी बढाएका हुन्।
जीवन बीमा कम्पनीले दुई आर्थिक वर्षको ६ महिनासम्म सेयर बजारमा गरेको लगानी रु लाखमा
| जीवन बीमा कम्पनी | २०८२ पुससम्म | २०८१ पुससम्म | फरक % |
| हिमालयन लाइफ | १२४७५४.५५ | ७३३१४.६७ | ७०.१६ |
| नेपाल लाइफ | ६५६९१.४५ | ३८१४२.२० | ७२.२३ |
| सूर्य ज्योति लाइफ | ४६४१४.०२ | २३१८०.०० | १००.२३ |
| लाइफ इन्स्योरेन्स कर्पोरेसन | ३११६२.९३ | २२५४०.५६ | ३८.२५ |
| आइएमई लाइफ | २५६२६.६० | १४२८६.७९ | ७९.३७ |
| रिलायबल नेपाल लाइफ | २३८८१.२४ | १३४३५.३३ | ७७.७५ |
| प्रभु महालक्ष्मी लाइफ | २०१४२.६२ | १०२८१.४९ | ९५.९१ |
| सानिमा रिलायन्स | १८४४६.८९ | ६७०३.२७ | १७५.१९ |
| नेसनल लाइफ | १७६१५.१७ | ७७९२.८४ | १२६.०४ |
| सन नेपाल लाइफ | १६३५३.९४ | १०८९६.९३ | ५०.०८ |
| सिटिजन लाइफ | १६०८७.८३ | ८६१३.४७ | ८६.७८ |
| एसियन लाइफ | १२०३९.०० | ६९२४.८८ | ७३.८५ |
| राष्ट्रिय जीवन बीमा कम्पनी | ५८१५.४८ | २१५९४.८४ | -७३.०७ |
| कुल | ४२४०३१.७२ | २५७७०७.२७ | ६४.५४ |
जीवन बीमा कम्पनीले आक्रामकरुपमा लगानी बढाएका छन्। यो वर्ष पुससम्म जीवन बीमा कम्पनीले ४२ अर्ब ४० करोड रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा लगानी गरेका छन्। जीवन बीमा कम्पनीले सेयर बजारमा पछिल्लो एक वर्षमा ६४.५४ प्रतिशतले लगानी बढाएका छन्।
पोहोर पुससम्म सेयर बजारमा २५ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेका कम्पनीले अहिले ४२ अर्मब ४० करोड रुपैयाँ पुर्याएका छन्।
जीवन बीमकको कुल लगानी ८ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।
हिमालयन लाइफले सेयर बजारमा सबैभन्दा धेरै १२ अर्ब ४७ करोड रुपैयाँ लगानी गरेको छ। कम्पनीले पोहोरको तुलनामा ७०.१६ प्रतिशत लगानी बढाएको हो।
नेपाल लाइफले ६ अर्ब ५६ करोड रुपैयाँ सेयर बजारमा लगानी गरेको छ। अधिकांश रकम मुद्दतीमा राखेका बीमा कम्पनीले बैंकको ब्याजदर घटेर अहिले २ प्रतिशतमा आएपछि लागत धान्न नसक्ने भएर लगानीको वैकल्पिक उपकरण खोजिरहेका हुन्।
बीमा कम्पनीले सेयर बजारमा लगानी गर्नकै लागि नेपाल धितोपत्र बोर्डबाट क्यापिटलको अनुमति लिएर सामूहिक कोष सञ्चालन गरिरहेका छन्।
जीवन बीमकले बजारमा पोर्टफोलियो लगानीका लागि बन्द र खुला मुखी प्रकृतिका सामूहिक लगानी कोष निष्कासन गरेर विभिन्न कम्पनीमा लगानी गरिरहेका छन्।
निर्जीवन बीमा कम्पनीले दुई आर्थिक वर्ष ६ महिनासम्म सेयर बजारमा गरेको लगानी रु लाखमा
| निर्जीवन बीमा कम्पनी | २०८२ | २०८१ | फरक % |
| राष्ट्रिय बीमा कम्पनी | ७९४१.८८ | ७९४१.८८ | ० |
| नेको | ६८१५.१७ | ६०५१.२२ | १२.६२ |
| सगरमाथा लुम्बिनी | ६५६५.६७ | ५३३७.७२ | २३.०१ |
| सिद्धार्थ प्रिमियर | ६२५८.८८ | ५०५७.५० | २३.७५ |
| आइजीआइ प्रुडेन्सियल | ४७१६.२६ | ५२१०.६२ | -९.४९ |
| नेपाल इन्स्योरेन्स | ४११२.९८ | १८३४.७८ | १२४.१७ |
| हिमालयन एभरेष्ट | ३९१४.५३ | २९२९.०२ | ३३.६५ |
| युनाइटेड अजोड | ३६७६.८४ | १६२७.०४ | १२५.९८ |
| सानिमा जिआईसी | २८८२.०६ | ३४४०.६० | -१६.२३ |
| शिखर | २८४३.३१ | २०१५.७१ | ४१.०६ |
| एनएलजी | २७९०.१० | १२८७.६७ | ११६.६८ |
| प्रभु इन्स्योरेन्स | १०९१.२८ | ११७३.७२ | -७.०२ |
| कुल | ५३६०८.९६ | ४३९०७.४८ | २२.१ |
नेपाल बीमा प्राधिकरणले लगानीका लागि इन्स्योरेन्स कम्पनीलाई क्षेत्रसहित सीमा तोकेको छ। बीमा कम्पनीले सूचीकृत कम्पनीको सेयरमा १० प्रतिशत बढी लगानी गर्न परे प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था लगानी निर्देशिकामा गरिएको छ।
प्राधिकरणले खुकुलो व्यवस्था गरेसँगै कम्पनीहरूले आक्रामकरुपमा सेयर बजारमा लगानी गरेका हुन्। यो वर्ष दोस्रो त्रैमाससम्म निर्जीवन बीमकले सूचीकृत कम्पनीको सेयरमा ५ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेका छन्। यो रकम पोहोरको तुलनामा २२.१ प्रतिशत धेरै हो।
गत वर्ष पुससम्म निर्जीवन बीमकले सेयर बजारमा ४ अर्ब ३९ करोड रुपैयाँ लगानी थियो।
पुनर्बीमातर्फ हिमालयन रिइन्स्योरेन्सले सेयर बजारमा लगानी ५३.७५ प्रतिशतले बढाए ४ अर्ब ६२ करोड पुर्याएको छ। कम्पनीले पोहोर पुससम्म सेयर बजारमा ३ अर्ब रुपैयाँ लगानी गरेको थियो।
सरकारको लगानी रहेको नेपाल रिइन्स्योरेन्सले भने सेयर बजारमा लगानी बढाएको छैन, यथावत राखेको छ। सेयर बजारमा कम्पनीको ९ करोड ४७ लाख रुपैयाँ लगानी छ।
नयाँ उपकरण नपाउँदा बीमकको अधिकांश रकम मुद्दती निक्षेपमा छ। बैंकको ब्याजदर घट्दा यो वर्ष दोस्रो त्रैमासमा बीमा कम्पनीहरूको नाफा घटेको छ।
The post सेयर बजारमा पोर्टफोलियो बढाउँदै बीमा कम्पनी, एक वर्षमा थपे सवा १९ अर्ब लगानी appeared first on BIZMANDU.