एनआइसी एशिया बैंकका अध्यक्षले बल्ल दिए राजीनामा, अब सुध्रिएला बैंक ?
काठमाडौं । लामो समयदेखि नियामकको निगरानी र कारबाहीको घेरामा पर्दै आएको एनआईसी एशिया बैंकमा अन्ततः नेतृत्व परिवर्तनको लागि बाटो खुलेको छ । नेपाल राष्ट्र बैंकको प्रत्यक्ष कारबाहीपछि बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले पदबाट राजीनामा दिएका छन् ।
वर्षौंदेखि उठ्दै आएका नियामकीय उल्लंघन, कमजोर सुशासन र जोखिमपूर्ण कर्जा व्यवस्थापनका प्रश्नबीच आएको उनको यो राजीनामाले बैंक अब सही बाटोमा फर्किन्छ कि फेरि पनि उही समस्याको पुनरावृत्ति हुन्छ भन्ने बहस सुरु भएको छ ।
नेपाल राष्ट्र बैंकले एनआइसी एसियाले पटक–पटक निर्देशन उल्लंघन गरेको निष्कर्ष निकाल्दै अध्यक्ष अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई जनही दुई–दुई लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो । राष्ट्र बैंक ऐनअनुसार यस्तो कारबाहीपछि पद स्वतः निलम्बन हुने प्रावधान रहेकाले बैंकले पुस ४ गते कारबाहीको पत्र पाएपछि अग्रवालले राजीनामा दिएका हुन् । आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त राजीनामा स्वीकृत गरिसकेको छ ।
यसअघि नै तत्कालीन सीईओ न्यौपाने बैंकबाट बाहिरिसकेका थिए । अध्यक्ष र सीईओ दुवै पद एकैपटक परिवर्तनको चरणमा पुग्नुले बैंकको शीर्ष नेतृत्व तह नै संकटमा परेको छ । हाल बैंकको सीईओको जिम्मेवारी सुजित शाक्यले सम्हालिरहेका छन् भने नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु गर्ने तयारी छ ।
राष्ट्र बैंकका निरीक्षण प्रतिवेदनअनुसार एनआइसी एसिया बैंकमा पुँजीकोष पर्याप्तता, कर्जा वर्गीकरण, जोखिमअनुसार प्रोभिजन, ब्याजदर कार्यान्वयन र संस्थागत सुशासनसम्बन्धी गम्भीर कमजोरीहरू पटक–पटक देखिएका छन् । कुनै त्रैमासमा ऋणीबाट बढी ब्याज असुलिएको, कुनै समयमा सञ्चालक तथा सम्बद्ध पक्षलाई नियमविपरीत सुविधा दिइएको, कतिपय अवस्थामा कर्जा र पुँजीकोषसम्बन्धी गलत रिपोर्टिङ गरिएको राष्ट्र बैंकको ठहर छ । यी समस्या एकपटकको चूक नभई निरन्तर दोहोरिँदै आएको जनाइएको छ ।
राष्ट्र बैंकले एकैचोटि कडा कदम नचालेर सुधारका लागि पटक–पटक चेतावनी, लिखित निर्देशन र कार्ययोजना माग गर्दै आएको थियो । तर, अपेक्षित सुधार नदेखिएपछि अन्ततः आर्थिक जरिवाना र पदसम्बन्धी कारबाहीको अवस्था आएको हो । नियामकको पत्रपछि मात्र अध्यक्षको राजीनामा आउनुले बैंकको नेतृत्व तहमा उत्तरदायित्वबोध ढिलो देखिएको विश्लेषकहरूको भनाइ छ ।
अब मुख्य प्रश्न उठेको छ, अध्यक्षको राजीनामापछि एनआइसी एसिया साँच्चिकै सुध्रिन्छ त ? वित्तीय क्षेत्रका जानकारहरूका अनुसार, व्यक्तिमात्र परिवर्तन भएर समस्या समाधान हुँदैन । सञ्चालक समिति, व्यवस्थापन संरचना, जोखिम व्यवस्थापन प्रणाली र नियामकीय अनुशासनमा समग्र सुधार नभएसम्म बैंकको छवि र वित्तीय स्वास्थ्यमा दीर्घकालीन सुधार सम्भव छैन ।
अध्यक्षको राजीनामाले एनआइसी एसियाका लागि सुधारको ढोका खोलेको भए पनि त्यो अवसर उपयोग हुन्छ कि हुँदैन भन्ने कुरा अब नयाँ नेतृत्वको कार्यशैली, पारदर्शिता र नियामकप्रतिको जवाफदेहितामा निर्भर रहने जानकारहरू बताउँछन् ।
विगतमा अध्यक्ष अग्रवालले तत्कालीन सिईओ न्यौपानेलाई अनुचित दवाव दिने गरेको आरोप लाग्दै आएको थियो । साथै केन्द्रीय बैंकको कारबाहीमा पनि उनीहरूले अनुचित मिलेमतो गरेर गैरकानूनी काम गरेको उल्लेख थियो ।
अहिले व्यवहारिक र जिम्मेवार सिईओको रूपमा शाक्यलाई हेरिएको छ । अबको एनआइसी एसियाको यात्रा कसरी अगाडि बढ्छ सिईओ शाक्य र नयाँ अध्यक्ष नियुक्तियले देखाउने जानकारहरू बताउँछन् ।