निर्वाचनको सुरक्षा तयारीबारे सेनाका उपरथी थापाबाट ब्रिफिङ, प्रधानमन्त्री कार्की आश्वस्त
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले गण्डकी प्रदेशमा निर्वाचनको सुरक्षा तयारीलाई लिएर सेनाका पृतनापतिबाट ब्रिफिङ लिएकी छन्।
उनले शुक्रबार नेपाली सेनाको पोखरास्थित पश्चिम पृतना मुख्यालयमा पुगेर पृतनापति उपरथी भोला थापाबाट गण्डकी प्रदेशको सुरक्षा तयारीबारे ब्रिफिङ लिएकी हुन्।
गण्डकी प्रदेश कमान्ड पोस्ट तथा निर्वाचन सेलमा भएको उच्चस्तरीय बैठकमा पृतनापति थापाले निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन, मतदानस्थल, मौसमी चुनौती तथा आकस्मिक योजनासम्बन्धी प्रस्तुतीकरण गरेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ।
बैठकमा गण्डकीका प्रमुख सचिव डण्डुराज घिमिरे, कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे, नेपाल प्रहरीका डीआईजी दीपेन्द्र जीसी, सशस्त्र प्रहरीका डीआईजी दीपेन्द्र शाह, प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायत उपस्थित थिए।
पृतनापति थापाको ब्रिफिङपछि विभिन्न निकायका प्रमुखहरूले राजनीतिक दलहरूमा निर्वाचनप्रति उत्साह देखिएको र मतदातामा पनि जागरण रहेको बताएका थिए। उनीहरुले चुनावी प्रचारप्रसार शान्तिपूर्ण, शिष्ट र मितव्ययी ढंगले भइरहेको जानकारी गराएका थिए।
गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा ३१४ उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये २९ जना महिला हुन्। प्रदेशभर १ हजार २६९ मतदान स्थल तोकिएका छन्। गण्डकीमा १८ लाख ४४ हजार ३५५ मतदाता छन्।
प्रधानमन्त्री कार्कीले हालसम्मको तयारीलाई उत्साहप्रद भन्दै सम्बन्धित अधिकारीहरूलाई धन्यवाद दिइन्।

उनले निर्वाचन शान्तिपूर्ण र विवादमुक्त रूपमा सम्पन्न गराउन कर्मचारी र सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण हुने बताइन्। उनले निर्वाचनलाई राष्ट्रलाई निकास दिने माध्यमका रूपमा लिइ दायित्व पूरा गर्न आग्रह गरिन्।
प्रधानमन्त्री कार्कीले त्यसअघि मुस्ताङ पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएकी थिइन्।
The post निर्वाचनको सुरक्षा तयारीबारे सेनाका उपरथी थापाबाट ब्रिफिङ, प्रधानमन्त्री कार्की आश्वस्त appeared first on BIZMANDU.