हास्यव्यङ्ग्यका बहुआयामिक खम्बाः रामकुमार पाँडे
समालोचक प्रमोद प्रधानद्वारा लिखित ‘नेपाली हास्यव्यङ्ग्यमा रामकुमार पाँडे र पाँडे पुराण’ कृतिका बारेमा केही लेख्ने जमर्को गर्दैछु। यो टिप्पणी प्रस्तुत कृतिको समग्र समीक्षा नभएर एकसरो पढाइको संक्षिप्त पाठकीय दृष्टिकोण मात्र हो। पाँडेका कृतिका समग्र पक्षलाई समालोचकले निकै गम्भीर ढङ्गले विश्लेषण गरेका छन्।
नेपाली हास्यव्यङ्ग्यको इतिहासमा रामकुमार पाँडे एउटा यस्तो नाम हो, जसले यो विधालाई केवल ‘हँसाउने माध्यम’ बाट उठाएर ‘प्राज्ञिक विधा’ को उचाइमा पुर्याए। समालोचक प्रमोद प्रधानले आफ्नो कृतिमा पाँडेको यही ऐतिहासिक र सिर्जनात्मक पक्षलाई मिहिन ढङ्गले केलाएका छन्।
प्रमोद प्रधानले पाँडेको योगदानलाई ‘साधनाको सम्मान’ भन्नु आफैँमा अर्थपूर्ण छ। पाँडेले ‘खिइँखिइँ’ जस्ता कृतिदेखि ‘पाँडे पुराण’ सम्म आइपुग्दा नेपाली समाजका विसङ्गति, राजनीतिक विद्रुपता र मानवीय स्वभावका कमजोर पक्षलाई ज्यादै रोचक तर तिखो प्रहार गरेका छन्। ‘पाँडे पुराण’ एउटा पुस्तक मात्र नभएर हास्यव्यङ्ग्यको एउटा स्कुल नै हो, जहाँ परम्परागत शैली र आधुनिक चेतको सुन्दर संयोजन पाइन्छ।
समालोचक प्रधानले उल्लेख गरेझैँ पाँडेको ठूलो योगदान सिर्जनामा मात्र सीमित छैन। हास्यव्यङ्ग्य विधाको सिद्धान्त प्रतिपादन र यसको इतिहास लेखनमा उनको भूमिका अतुलनीय छ। उनले हास्यव्यङ्ग्यलाई ‘हल्का’ विधा मान्ने सोचका विरुद्ध बौद्धिक बहस चलाए। यो विधाको ऐतिहासिक अभिलेख तयार पारेर आगामी पुस्ताका लागि अनुसन्धानको बाटो प्रशस्त गरिदिए। पुस्तकको आवरणमा मनुजबाबु मिश्र र पृष्ठावरणमा अशोकमान सिंह जस्ता मूर्धन्य कलाकारहरूको कला समावेश हुनुले यसको सौन्दर्य र ऐतिहासिक महत्त्वलाई अझ बढाएको छ। पाँडे आफैँ पनि रेखाचित्रमार्फत व्यङ्ग्य गर्ने खुबी राख्छन्। त्यसैले यो कृतिमा शब्द र चित्रको एक विशिष्ट संयोजनको पाठकीय मिठास पनि चाख्न पाइन्छ।
प्रमोद प्रधानको यो कृतिले रामकुमार पाँडेलाई एउटा व्यक्तिका रूपमा मात्र नभई एउटा संस्थाका रूपमा चित्रण गरेको छ। २०१८ सालदेखि उनको अनवरत यात्राले हास्यव्यङ्ग्य भनेको क्षणिक मनोरञ्जन मात्र नभएर समाज रूपान्तरणको एउटा बलियो हतियार पनि हो भन्ने तथ्य उजागर गर्छ। ‘पाँडेका व्यङ्ग्यमा पाइने बौद्धिकता र सरलताको मिश्रण नै उनको मौलिक पहिचान हो’ भन्ने समीक्षक प्रधानको विश्लेषण जीवन्त छ। प्रधान आफैँ अनुसन्धाता, लेखक र सम्पादक भएकाले पाँडेको कृतिको न्यायोचित मूल्याङ्कन भएको अनुभव गर्न सकिन्छ।
वस्तुतः ‘हाँसने प्रकाशन’ ले यस्तो ओजपूर्ण कृति प्रकाशन गरेर नेपाली हास्यव्यङ्ग्यको श्रीवृद्धिमा ठूलो गुन लगाएको छ। यो पुस्तक स्रष्टा पाँडेको जीवनी मात्र नभई नेपाली हास्यव्यङ्ग्यको ६ दशक लामो यात्राको ऐना पनि हो। यस कृतिमा उल्लेख भएका सन्दर्भ सूचीहरूले रामकुमार पाँडेको लेखनको आयतन र उनको व्यक्तित्वको उचाइलाई प्रष्ट पार्छन्। रामकुमार पाँडेका कृतिहरूको नामावली हेर्दा उनी एक लेखक मात्र नभई हास्यव्यङ्ग्यका बहुमुखी प्रयोगशाला भएको देखिन्छ।
उनका ‘श्री पाँडेको सरकार’, ‘जोकतन्त्र जिन्दाबाद’ र ‘थुइक्क’ जस्ता कृतिले समकालीन नेपाली राजनीतिको विद्रुपता र कुर्सीमोहको तितो यथार्थ ओकलेका छन्। त्यस्तै ‘महा पञ्चतन्त्र’, ‘चार खुट्टेको चमत्कार’, ‘बाबुको बिहे’ र ‘१२ मज्जा’ जस्ता कृतिहरूमा सामाजिक कुरीतिमाथि निर्मम प्रहार गरिएको छ। ‘खप्पर’, ‘मोज गर्नुस्’ र ‘तातो पिँडालु’ मा जीवनको अनिश्चिततालाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ। उनले १०१ हास्यव्यङ्ग्य, १०१ हाँसने कविता र हास्य निबन्धका माध्यमबाट यस विधालाई विशिष्टीकृत गरेका छन्।
पाँडेले प्राप्त गरेका बासुदेव लुइटेल, भैरव अर्याल, बराथा स्मृति, गोतामे स्रष्टा र देवकुमारी थापा स्मृति सम्मान जस्ता पुरस्कारहरूले उनको योगदानलाई नेपाली वाङ्मयको साझा निधिका रूपमा स्थापित गरेका छन्। प्रमोद प्रधानले पाँडेलाई ‘हास्यव्यङ्ग्यको इन्साइक्लोपिडिया’ का रूपमा चित्रित गरेका छन्। हुन त यस कृतिमा पाँडेको हास्यव्यङ्ग्यको पाटो मात्र उल्लेख छ, तर उनी भूगोलविद्, जापानविद् र चित्रकारका रूपमा पनि उत्तिकै प्रसिद्ध छन्। समग्रमा यो कृतिले एक कालजयी स्रष्टाको पूर्ण चित्र कोर्न मद्दत गरेको छ।