आयल निगमले अभाव हटाउन ग्यासको कोटा बढाउँदा पनि माघमा किन घट्यो आयात?
काठमाडौं। नेपाल आयल निगमले बजारमा देखिएको अभाव हटाउन एलपी ग्यासको कोटा बढाएको भनिरहँदा आयात भने घटेको छ।
भन्सार विभागले शुक्रबार प्रकाशित गरेको तथ्यांक अनुसार पुसमा भन्दा माघमा ग्यास आयात २.४७ प्रतिशतले घटेको हो।
पुसमा ४७ हजार ४६० मेट्रिक टन ग्यास आयात भएकामा माघमा ४६ हजार २८४ मेट्रिक टन भित्रिएको छ। माघमा बजारमा ग्यास अभाव भएकामा अहिले पनि उपभोक्ताले सजिलै पाउन सकेका छैनन्।
अभाव भएपछि निगमले उद्योगीलाई दिने प्रोडक्ट डेलिभरी अर्डर(पीडीओ)को कोटा बढाएको बताएको थियो। तर आयात किन बढेन त?
निगमका उपनिर्देशक मनोज कुमार ठाकुरले उद्योगीले माघको सुरुमा पीडीओ अनुसार आयात नगरेको र अन्तिममा मात्र कोटा अनुसार भित्र्याएकाले पुसको तुलनामा माघमा कम देखिएको बताए।
‘महिनाको सुरुमा धेरै ग्यास उद्योगीले हामीले तोकेको कोटा अनुसार ग्यास आयात गरेनन्। महिनाको अन्तिमतिर मात्रै धेरै ल्याएका हुन्। जसले गर्दा पछिल्लो ब्याकलग पूरा गर्न कठिन भयो,’ उपनिर्देशक ठाकुरले भने।
सामान्य अवस्थामा दैनिक ९० बुलेट ग्यास आयात गर्ने गरिएकामा उद्योगीले माघको अन्तिममा दिनमा १३२ बुलेटसम्म भित्र्याएको निगमको तथ्यांक छ।
पेट्रोल र हवाई इन्धन बढ्यो
चालु आवमा पुसको तुलनामा माघमा पेट्रोल र हवाई इन्धनको आयात भने बढेको छ। पुसमा ६० हजार ७६२ किलोलिटर पेट्रोल आयात भएकामा माघमा ६३ हजार ३८१ किलोलिटर भित्रिएको छ।
चालु आवको सात महिनामा ३८ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको ४ लाख ४२ हजार ७८७ किलोलिटर पेट्रोल आयात भएको छ।
हवाई इन्धन पनि ७ महिनामा ११ अर्ब ५१ करोड बराबरको १ लाख २४ हजार ८९५ किलोलिटर आयात भएको छ। पुसमा १६ हजार ५५७ किलोलिटर आयात भएकामा माघमा १८ हजार २५५ किलोलिटर हवाई इन्धन भित्रिएको छ।
७ महिनामा कुल १ खर्ब ५१ अर्ब ४१ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। त्यसमध्ये डिजल ६९ अर्ब ९१ करोड रुपैयाँ बराबरको ७ लाख ६६ हजार ३९६ किलोलिटर हो।
डिजलको आयात पुसको तुलनामा माघमा घटेको छ। पुसमा १ लाख ३३ हजार ५२४ किलोलिटर आयात भएकामा माघमा १ लाख ३१ हजार ८२० किलोलिटर भित्रिएको छ।
पेट्रोलियम पदार्थ आयातबाट सरकारले ६३ अर्ब ४६ करोड ८१ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।
The post आयल निगमले अभाव हटाउन ग्यासको कोटा बढाउँदा पनि माघमा किन घट्यो आयात? appeared first on BIZMANDU.