KHASOKHAS
इरानमाथि अमेरिकी समुद्री घेराबन्दी : पहिलो दिनमै कुनै जहाज पास भएन, ६ वटा फर्काइए
अमेरिकाले इरानका बन्दरगाह तथा तटीय क्षेत्रहरूमा लगाएको नौसैनिक नाकाबन्दीको पहिलो २४ घण्टामा कुनै पनि जहाज नाकाबन्दी क्षेत्र पार गर्न सकेका छैनन्। अमेरिकी सेनाले मंगलबार दिएको जानकारी अनुसार ६ वटा व्यापारिक जहाजलाई अमेरिकी सेनाले दिएको निर्देशनअनुसार फर्किन बाध्य पारिएको छ।
यो नाकाबन्दी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा लागू गरिएको हो, जुन अमेरिका र इरानबीच शान्ति वार्ता असफल भएपछि सुरु गरिएको हो।
अमेरिकी सेनाका अनुसार सोमबारदेखि सुरु गरिएको यो नाकाबन्दी केवल इरान जाने वा इरानबाट बाहिरिने जहाजहरूमा लागू गरिएको छ। यसमा फारस खाडी र ओमानको खाडीमा रहेका सबै इरानी बन्दरगाहहरू समेत समेटिएका छन्।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले जारी गरेको वक्तव्यमा भनिएको छ, “पहिलो २४ घण्टामा कुनै पनि जहाज नाकाबन्दी पार गर्न सकेनन् । छ वटा व्यापारिक जहाजहरूले अमेरिकी सेनाको निर्देशन पालना गर्दै फर्किएर ओमानको खाडीमा रहेको इरानी बन्दरगाहतर्फ पुनः प्रवेश गरेका छन्।”
अमेरिकी सेनाले दिएको जानकारी अनुसार नाकाबन्दी कार्यान्वयनका लागि ठूलो सैन्य शक्ति परिचालन गरिएको छ। यसमा १०,००० भन्दा बढी अमेरिकी सैनिक, एक दर्जनभन्दा बढी युद्धपोत र दर्जनौं सैन्य विमानहरू समावेश छन्।
नाकाबन्दी सबै देशका जहाजहरूमा समान रूपमा लागू हुने सेनाले स्पष्ट पारेको छ ।
अमेरिकी सेनाले सोमबार समुद्री यात्री तथा जहाज सञ्चालकहरूलाई पठाएको सूचनामा स्पष्ट भनिएको छ, “अनुमति बिना नाकाबन्दी क्षेत्र प्रवेश गर्ने वा बाहिरिने कुनै पनि जहाजलाई रोक्ने, मोड्ने वा नियन्त्रणमा लिने कार्य गरिनेछ।”
नाकाबन्दीले इरानको सम्पूर्ण तटीय क्षेत्र समेट्ने बताइएको छ। तर, मानवीय सहायता (जस्तै खाद्यान्न, औषधि र अन्य अत्यावश्यक सामग्री) निरीक्षणपछि अनुमति दिइने उल्लेख गरिएको छ।
शान्ति वार्ता असफल भएपछि राष्ट्रपति ट्रम्पले नाकाबन्दी घोषणा गरेका थिए। त्यसको परिणामस्वरूप अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ।