गाडी भाडा फेरि बढाउन यातायात व्यवसायीको माग, ‘नभए इन्धनको मूल्यवृद्धि फिर्ता गरियोस्’
काठमाडौं। नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले भाडा बढाउन माग गरेको छ।
महासंघले बिहीबार प्रेस विज्ञप्ति निकालेर इन्धनको मूल्य बढेको अवस्थामा भाडा बढाउन माग गरेको हो। महासंघले भाडा नबढाउने अवस्थामा मूल्य वृद्धि फिर्ता गरिनुपर्ने बताएको छ।
‘वैज्ञानिक विधि अनुरुप स्वचालित प्रणालीबाट पेट्रोलियम पदार्थको मूल्य ५% वृद्धि हुँदा हुने भाडा समायोजन गरिदिन वा मूल्य वृद्धि फिर्ता लिन जोडदार माग गर्दछौं,’ महासंघले भनेको छ।
सरकारले यातायात भाडा एक साताअघि मात्र बढाएको थियो। यातायात भाडा वृद्धिपछि इन्धनको मूल्य दुई पटक बढिसकेको छ। नेपाल आयल निगमले डिजलको प्रतिलिटर मूल्य चैत २७ गते २५ रुपैयाँ र वैशाख २ गते ३० रुपैयाँ बढाएको थियो।
महासंघले इन्धनको खपत कम हुने र मूल्यवृद्धिको वैकल्पिक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।
The post गाडी भाडा फेरि बढाउन यातायात व्यवसायीको माग, ‘नभए इन्धनको मूल्यवृद्धि फिर्ता गरियोस्’ appeared first on BIZMANDU.