वैदेशिक लगानी स्वीकृति स्वचालित बनाउने सरकारको कदमलाई निक्कीले गर्यो स्वागत
काठमाडौं। नेपाल भारत उद्योग वाणिज्य संघ (निक्की)ले विदेशी लगानी स्वीकृति सेवालाई स्वचालित मार्गबाट संचालन गर्ने सरकारको निर्णयको स्वागत गरेको छ। निक्कीले सरकारको यो कार्यलाई नेपालका लागि लगानीमैत्री वातावरण सुदृढ गर्ने दिशामा सकारात्मक सुधारका रूपमा मूल्यांकन गरेको जनाएको छ।
फागुन ४ गते राजपत्रमा प्रकाशित नयाँ स्वचालित संयन्त्रले प्रक्रियागत ढिलाइ घटाउने, पारदर्शिता बढाउने र नेपालमा लगानी गर्न स्वीकृति चाहने विदेशी लगानीकर्ताका लागि प्रशासनिक झंझटीलो प्रक्रिया सरल बनाउने अपेक्षा निक्कीले गरेको छ।
लगानी स्वीकृति प्रक्रियालाई डिजिटाइज र सुव्यवस्थित गर्दै सरकारले नेपालका नियामक अभ्यासलाई विश्वव्यापी उत्कृष्ट अभ्यास र लगानीकर्ताको अपेक्षासँग नजिक लैजाने महत्त्वपूर्ण कदम चालेको निक्कीको ठहर छ ।
निक्कीका अध्यक्ष सुनिल केसीले सरकारको यस कदमको स्वागत गर्दै हालको सरकारको प्रमुख दायित्व निर्वाचन सम्पन्न गर्नु भए पनि व्यवसायमैत्री वातावरण सिर्जना गर्ने प्रयास गरिरहेकोमा खुसी व्यक्त गरे। उनले लगानी सहजीकरणका लागि विशेष रूपमा उद्योगमन्त्री अनिल सिंन्हा, अर्थमन्त्री रामेश्वर खनाल तथा प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद दिए।
निक्कीले करिब एक महिनाअघि उद्योगमन्त्री सिन्हासँग गरेको छलफल, सो क्रममा पेस गरिएका सुझावहरू र प्रत्यक्ष वैदेशिक लगानीलाई सहजीकरण गर्न लामो समयदेखि अस्तित्वमा रहेका कानुनहरू सुधार गर्न सरकारसँग गरेका आग्रहको पनि स्मरण गरेको छ।
सरकारको कदमको प्रशंसा गर्दै निकीअन्तर्गतको इन्डियन विजनेस फोरम (आइबीएम)का सह-संयोजक सैबाल घोषले स्वचालन प्रणाली महत्त्वपूर्ण सुधार भए पनि यसलाई व्यापक र समग्र लगानी रणनीतिको अंशका रूपमा हेर्नुपर्ने बताए।
‘यो उपयुक्त कदम हो, तर यस मात्रले वैदेशिक लगानी आकर्षित गर्न पर्याप्त नहुन सक्छ,’ उनले भने।
साथै, भारतका विभिन्न राज्य र भारतको केन्द्र सरकारद्वारा वैदेशिक लगानीकर्तालाई आकर्षित गर्न प्रदान गर्ने स्किमसँग मेल खाने गरी नयाँ लगानीकर्ताका लागि लाभ वा प्रोत्साहन गर्ने योजना ल्याउन नयाँ सरकारले आवश्यक रहेको उनको भनाइ छ।
निक्कीले लगानीका लागि क्षेत्रीय प्रतिस्पर्धा तीव्र बन्दै गएको, छिमेकी मुलुकहरू र भारतीय राज्यहरूले विश्व बजारबाट पुँजी आकर्षित गर्न कर प्रोत्साहन, क्षेत्रगत लाभ र सहजीकरणजस्ता प्याकेजहरू उपलब्ध गराइरहेको हुनाले यस प्रतिस्पर्धामा नेपालले आफ्ना प्रा्त्साहनका प्याकेज बनाउन पनि जोड दिएको छ। यसप्रकार नेपालले प्रक्रियागत सुधारसँगै प्रतिस्पर्धीरुपमा प्रोत्साहन नीति र लगानीपछिको प्रभावकारी सेवा प्रणाली पनि विकास गर्नुपर्ने संघले जनाएको छ।
नेपाल-भारतबीचको बलियो आर्थिक अन्तरसम्बन्ध, भौगोलिक निकटता र बढ्दो सीमापार लगानी चासोलाई दृष्टिगत गर्दै भारतमा प्रचलित वैदेशिक लगानी प्रोत्साहन गर्न नेपालका कानुनी तथा अन्य संरचना अझ सहज बनाउनु विशेष रूपमा महत्त्वपूर्ण हुने निक्कीले उल्लेख गरेको छ।
The post वैदेशिक लगानी स्वीकृति स्वचालित बनाउने सरकारको कदमलाई निक्कीले गर्यो स्वागत appeared first on BIZMANDU.