को हुन् मिराज ढुंगाना ?
काठमाडौं । नेपालको राजनीतिक क्षितिजमा पछिल्लो समय चर्चामा आएका युवा अभियन्ता मिराज ढुंगाना ‘गरिखान देऊ’ अभियानका संयोजक तथा जेनजी आन्दोलनका एक अगुवा व्यक्तित्व हुन् । २४ वर्षीय ढुंगाना व्यवसायी पनि हुन् ।
उनी २०८२ भदौमा भएको ऐतिहासिक जेनजी आन्दोलन मार्फत राष्ट्रिय चर्चामा आए । यो आन्दोलन भ्रष्टाचार, बेरोजगारी, सामाजिक सञ्जाल प्रतिबन्ध र कुशासनविरुद्ध युवापुस्ताको स्वतस्फूर्त विद्रोह थियो, जसले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा गरायो र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो ।
ढुंगाना आन्दोलनको सुरुवाती चरणमा सक्रिय थिए र टिकटकजस्ता प्लेटफर्मबाट युवाहरूलाई जागृत गराएका थिए । तर आन्दोलन चर्किएपछि ज्यानको धम्की आएको भन्दै केही समय लुकेका थिए, जसलाई केहीले ‘भगौडा’ को आरोप लगाए । पछि सार्वजनिक भएका उनी प्रत्यक्ष निर्वाचित कार्यकारी, विदेशी मताधिकार र सुशासनका मागसहित निरन्तर सक्रिय छन् । हाल उनी अन्तरिम सरकारको आलोचना गर्दै सडक प्रदर्शन गरिरहेका छन् ।
जेनजी आन्दोलनका विभिन्न समूहबीच मतभेदका कारण ढुंगाना विवादित पनि बनेका छन्, तर युवापुस्ताको आक्रोशको प्रतिनिधित्व गर्ने उनी नेपालको नयाँ राजनीतिको एउटा महत्वपूर्ण नाम बन्दै गएका छन् ।
भदौ २०८२ को ऐतिहासिक जेनजी विद्रोहले देशलाई नयाँ बाटो देखाएपछि सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले सुशासनको सपना बाँडेको थियो। तर त्यही सपनालाई चुनौती दिँदै मिराज ढुंगाना फेरि सडकमा उत्रिएका छन्। उनी ‘गरी खान देऊ’ अभियानका संयोजक हुन्, जसले सुशासन, सर्वपक्षीय सरकार र प्रत्यक्ष कार्यकारी निर्वाचनको मागलाई निरन्तरता दिइरहेको छ। तर प्रश्न उठ्छः यो आन्दोलन साँच्चै जेनजीको मर्म बोकेको हो की कुनै गहिरो स्वार्थको खेल?
भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका यो युवा अभियन्ता जेनजी आन्दोलनको जगमा उभिएको वर्तमान अन्तरिम सरकारको सबैभन्दा कडा आलोचक बनेका छन् । तर प्रश्न उठ्छ — उनी को हुन् ? जेनजी पुस्ताको सच्चा प्रतिनिधि कि कुनै अदृश्य शक्तिको मोहरा ? राजावादीको साथ लिएर सडकमा उत्रिँदा उनीमाथि लाग्ने आरोपहरूले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ ।
मिराज ढुंगाना भ्रष्टाचारविरुद्धको लडाइँमा पुरानै योद्धा हुन् । जेनजी आन्दोलनको चर्को विद्रोह हुनुभन्दा पहिले नै उनले सामाजिक सञ्जाल र सडकबाट सुशासनको माग गर्दै आएका थिए । तर आन्दोलनको उरालो चरणमा उनी प्रत्यक्ष सहभागी भएनन् भन्ने चर्चा पनि उत्तिकै छ । आन्दोलनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरेपछि भने ढुंगाना अचानक सक्रिय बने । सरकारले कुनै पक्षसँग वार्ता गर्न खोज्दा उनको समूहले ध्यान भंग गर्ने गरी आन्दोलन घोषणा गर्ने शैलीले धेरैलाई चकित बनाएको छ ।
हालै माइतीघर मण्डलामा भएको प्रदर्शन यो कडीको सबैभन्दा जीवन्त उदाहरण हो । ढुंगाना नेतृत्वको जेनजी समूहले प्रधानमन्त्री कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग्दै सडक तताएको थियो । ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ भन्ने नारा घन्काउँदै उनीहरूले सर्वपक्षीय सरकार गठन नभई चुनावको औचित्य नरहेको तर्क अघि सारे ।
प्रदर्शनमा डा. निकोलस भुसाल र रविकिरण हमाल समूहको पनि सहभागिता थियो । उनीहरु, जो आफैं विवादास्पद अभिव्यक्ति र राजावादी झुकावका लागि चिनिन्छन्, भुसाललाई प्रहरीले छोटो समय नियन्त्रणमा लिएर छोडेको थियो । ढुंगानासहित केही प्रदर्शनकारी पनि पक्राउ परे । तर आन्दोलनकारीहरूले ‘राजा चाहियो’ जस्ता नारा पनि लगाएपछि प्रश्न उठ्यो — यो सुशासनको लडाइँ हो कि पुरानो व्यवस्थातर्फको संकेत ?
यो घटनाले ढुंगानाको राजनीतिक रणनीतिमाथि गम्भीर बहस छेडेको छ । ठूला दलहरूले जेनजी आन्दोलनलाई ‘केही होइन’ भन्दै उडाउँदा उनी चुप लाग्छन्, तर अन्तरिम सरकारलाई भने निरन्तर दबाब दिन्छन् । के यो सरकार ढलेपछि पुरानो शक्ति फर्कने डर हो ? वा राजावादीहरूसँगको सहकार्यले उनीमाथि लागेको आरोप सत्य हो ? आन्दोलनमा राजावादीको उपस्थिति र ‘राजा चाहियो’ को नाराले धेरैलाई सोच्न बाध्य बनाएको छ । जेनजी आन्दोलनको मूल मर्म सुशासन र युवा सशक्तीकरण थियो, तर अहिलेको यो धाराले त्यसलाई कता डोर्याउँदैछ ?
मिराज ढुंगाना एक्ला अभियन्ता होइनन् । उनी पछाडि केहि युवाहरूको पंक्ति छ, जो आन्दोलनको उपलब्धिलाई ‘ललिपप’ मात्र ठान्छन् । तर अन्य जेनजी समूहहरूले नै उनलाई ‘भगौडा’ र ‘भाडाका मान्छे’ को संज्ञा दिएका छन् । प्रशासनले उनको आन्दोलनलाई अनुमति नदिँदा पनि उनी सडकमा उत्रिन्छन् । यो दृढता प्रशंसनीय छ कि शंकास्पद ?