चैत महिनामा खाद्यान्न र तरकारीको मूल्यमा भारी वृद्धि, कुन सामाग्रीको भाउ कति बढ्यो?
काठमाडौं । चैत महिनामा खाद्यान्नको मूल्य अत्याधिक बढेको वाणिज्य विभागको मूल्य विश्लेषण प्रतिवेदनले देखाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चैत महिनामा देशभर गरेको मूल्य विश्लेषणमा खाद्यान्न र तरकारीको मूल्य बढेको देखिएको हो।
विभागले विराटनगर, वीरगंज, भैरहवा, नेपालगंज, धनगढी र काठमाडौं उपत्यकामा संकलित औसत बजार मूल्य विश्लेषण गरेको थियो। विभागले नेपाल खाद्य किराना व्यवसायी संघबाट खाद्य वस्तुको मूल्य पनि संकलन गरेको थियो।
त्यसक्रममा हरिया तरकारी, माछा र मासु लगायतको मूल्य पनि बढेको देखिएको हो। पेट्रोलियम पर्दाथ र कच्चा पर्दाथको आयात मूल्य वृद्धिको कारणले गर्दा भाउ बढ्न गएको मूल्य विश्लेषणको प्रतिवेदनमा पाइएको छ।
जनरल सोना मन्सुली चामल केजीमा ३६ रुपैयाँसम्म बढेको देखिएको छ। वीरगंजमा प्रतिकेजी ५९ रुपैयाँ पर्ने जनरल सोना मन्सुली चामल उपत्यकामा करिब प्रति केजी ९५ रुपैयाँ भएको छ। वीरगंजबाट उपत्यकामा आएर बिक्री हुने चामलको भाउ केजीमा ३६ रुपैयाँसम्म बढेको छ।
स्टिम जिरा मसिनो चामल केजीमा १५ रुपैयाँ बढेको छ। वीरगंजमा प्रतिकेजी ८५ रुपैयाँ रहेको चामल काठमाडौं आइपुग्दा १०२ रुपैयाँ भएको छ।
जनरल जीरा मसिनो चामल केजीमा २० रुपैयाँ बढेर प्रतिकेजी ९६ रुपैयाँ पुगेको छ। बासमति चामल केजीमा २५ रुपैयाँ बढेर प्रति केजी १८५ रुपैयाँ भएको छ। मोटा चामल केजीमा २० रुपैयाँ बढेको छ।
त्यस्तै, मैकैको मूल्य केजीमा १४ रुपैयाँ बढेर प्रतिकेजी १२७ रुपैयाँ भएको छ। गहुँको मूल्य केजीमा १६ रुपैयाँ बढेर ६० रुपैयाँ, आँटा केजीमा १६ रुपैयाँ बढेर ६० रुपैयाँ पुगेको छ। मैदा, सुजी, ताइचिन चिउरा केजीमा ७५ रुपैयाँ बढेर १७० रुपैयाँ, पुग्दा पातलो चिउरा पनि केजीमा ७८ रुपैयाँ बढेर प्रति केजी १४५ रुपैयाँ भएको छ।
मुसुरोको दाल केजीमा ३७ रुपैयाँ बढेर प्रति केजी १८५ रुपैयाँ, मास केजीमा ८२ रुपैयाँ बढेर २३० रुपैयाँ, रहर पोलिस ७७ रुपैयाँ बढेर २२५ रुपैयाँ पुगेको छ।
मुंगी खोस्टा भएको दाल, चना दाल, ठुलो दाल, बोडी, राजमा, सेतो केराउ, काउली, चना, हरियो केराउ, भटमास लगायतको मुल्य केजीमा १०० रुपैयाँसम्म बढेको छ।
चिनीको मूल्य पनि केजीमा १५ रुपैयाँ बढेर १०० रुपैयाँ भएको छ। तोरीको तेल लिटरमा ८५ रुपैयाँ बढेर प्रतिलिटर ३६० रुपैयाँ, भटमास तेल लिटरमा १३ रुपैयाँ बढेर प्रति लिटर २९० रुपैयाँ २८५ रुपैयाँ पुगेको प्रतिवेदनमा पाइएको छ।
चैत महिनामा आलु केजीमा १७ रुपैयाँसम्म बढेको छ। काउली केजीमा ५० रुपैयाँ बढ्दा जीरा केजीमा २०० रुपैयाँ बढेर केजीकै ७०० रुपैयाँ छ।
धनिया गेडा केजीमा ९० रुपैयाँ बढेर प्रति केजी ३०० रुपैयाँ, प्याज केजीमा १६ रुपैयाँ, लसुन गोलभेडा केजीमा ४२ रुपैयाँ, अण्डा क्रेटमा १५० रुपैयाँ, कुखुराको मासुको मूल्य केजीमा ८० रुपैयाँ, केरा दर्जनमा १५२ रुपैयाँ बढेको छ।
साथै, अनार केजीमा १४० रुपैयाँ बढेर ४५० रुपैयाँ पुगेको छ। स्याउ केजीमा १४६ रुपैयाँ बढेर प्रति केजी ३६६ रुपैयाँ, सुन्तला केजीमा ८० रुपैयाँ बढेर प्रतिकेजी २४० रुपैयाँ भएको छ।
The post चैत महिनामा खाद्यान्न र तरकारीको मूल्यमा भारी वृद्धि, कुन सामाग्रीको भाउ कति बढ्यो? appeared first on BIZMANDU.