npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

सिकारुलाई देश जिम्मा दिनुहुँदैन, कांग्रेसले सम्हाल्नुपर्छ -विश्वप्रकाश शर्मा

इन्द्र कमल रोक्का 20 hours ago

मोरङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपालमा सिर्जना भएका हरेक विषम परिस्थितिमा देशलाई सम्हाल्ने क्षमतावान एक मात्र दल कांग्रेस भएको बताएका छन् ।

मोरङ–१ मा कांग्रेस उम्मेदवार खड्ग फागोको मोरङको केराबारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले अहिलेको राष्ट्रिय सङ्कट घडीमा सिकारुलाई देश जिम्मा लगाउने होइन, परिपक्व शक्तिलाई जिम्मा दिनुपर्ने बताए । निर्वाचनको मैदानमा आँधीहुरी चलेको बेला पनि देशको बागडोर सम्हाल्न सक्ने दल कांग्रेस मात्रै भएको बताउँदै उनले जनतालाई सचेत रहन आग्रह गरे ।

उपसभापति शर्माले भने, ‘सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन, जिम्मेवारी हाक्न, परिपक्व, अनुभवी र सङ्कट व्यवस्थापन गर्न सक्ने दललाई मात्रै देशको नेतृत्व दिनुपर्छ ।’ नेपाली कांग्रेस इतिहासदेखि नै सङ्कटको घडीमा देशलाई सम्हाल्दै आएको दल भएकाले यस पटकको निर्वाचन पनि राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक मोड हुने उनले बताए ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीको १० बर्षे जनयुद्धको द्वन्द्व अन्त्य गर्न र माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन कांग्रेसले निर्णायक भूमिका खेलेको उपसभापति शर्माले स्मरण गराए । उनले भने ‘कांग्रेसको ‘बन्दुकले बन्दुकको समाधान हुँदैन’ भन्ने सिद्धान्तबाट गिरिजाप्रसाद कोइरालाले माओवादीलाई मूलधारको राजनीतिमा ल्याएर देशलाई ठूलो रक्तपातबाट जोगाएको कसैले बिर्सेका छैन ।’

संविधान निर्माणको संवेदनशील घडीमा सबै पक्षलाई समेटेर अघि बढ्ने काम कांग्रेसले गरेको उनले स्मरण गराए । कांग्रेसलाई परिपक्व माझी भएको दाबी गर्दै,देशमा सङ्कट वा ‘आँधी हुरी’ आएको बेला अनुभवी नेतृत्वले मात्र देश सम्हाल्न सक्ने उनको भनाई थियो । यस बेला देशमा उठेको नयाँ पुस्ताको आक्रोश र मागलाई सम्बोधन गर्ने शक्ति पनि कांग्रेस नै भएको उनले बताए ।

Read more news from Kendrabindu

Explore by Source or Category