देशभर १० लाख १६ हजार बढी मतदाता थपिए
काठमाडौं । देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन् ।
सोमबार आसन्न प्रतिनिधिसभा निर्वाचनबारे सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो जानकारी दिएका हुन् ।
निर्वाचन आयोगका प्रवक्ता भट्टराईका अनुसार २०७९ सालको चुनावमा भन्दा यसपटक मतदाताको संख्यामा ५.६५ प्रतिशतले वृद्धि भएको हो ।
निर्वाचन आयोगका अनुसार मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता थिए ।
उनका अनुसार हाल प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दर्ता भएका दलहरुको संख्या ११४ पुगेको छ ।
राष्ट्रिय सभा निर्वाचन : पुस १९ गते मतदाता नामावली प्रकाशन हुने
राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन पाउने मतदाताको नाम यही पुस १९ गते प्रकाशन हुने भएको छ ।
निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन र उजुरी माथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।
पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ ।पुस २४ गते विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता चाहनलेलाई समय दिने, र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
पुस २८ गते उम्मेदवारले निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट पाउनेछन् ।माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।