npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

छिमेकी राजधानीले समेत नसुनेको तिमालबेसीको व्यथा

विद्या राई 4 hours ago

सरिता तामाङको परिवार काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका-५ कानपुरबाट पाँचखाल नगरपालिका-१३ स्थित तिमालबेसी झरेको चार वर्ष बित्यो। कानपुरमा एक बाली मात्र हुने मकै खेतीको भरमा वर्षभरि गुजारा नचलेपछि उनको परिवार सुनकोसी किनारको तिमालबेसी झरेको हो। सुनकोसीबाट पर्याप्त सिँचाइ हुने भएकाले तिमालबेसी फाँटमा कृषि उत्पादन राम्रो हुन्छ। यस क्षेत्रमा वर्षमा तीन बाली हुन्छ– धान, मकै र गहुँ। अन्नका साथै दलहन बाली र तरकारी पनि राम्रो उब्जनी हुन्छ।

सरिताको परिवारले भाडामा लिएको खेतमा खेती गर्दै आएको छ। त्यसबाट परिवारको खाद्यान्न आवश्यकता सहज रूपमा पूरा भइरहेको छ। तर, उनीसहित यस भेगका बासिन्दा गुणस्तरीय शिक्षा, स्वास्थ्य र यातायात सुविधाबाट वञ्चित छन्। उनका तीन छोराछोरी छन्। दुई छोरी कक्षा ३ र २ मा पढ्छन् भने छोरा शिशु कक्षामा पढ्छन्। “घरनजिकै कक्षा ५ सम्मको विद्यालय छ, तर पढाइ राम्रो छैन,” सरिता भन्छिन्, “अन्त बसाइँ सरौँ भने आर्थिक स्थितिले भ्याउँदैन, कमाउन कतै जाऊँ भने पनि खेती गर्ने र बस्तुभाउ पाल्नेबाहेक हातमा सीप छैन।”

काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा छ, तिमालबेसी। संघीय राजधानीको नजिकै भएर पनि विकट छ यो बस्ती।

तिमालबेसी गाउँ।

सामान्य स्वास्थ्य समस्या आउँदा जँचाउनुपरे वडा कार्यालयसँगैको स्वास्थ्यचौकी पुग्न डेढ घण्टा उकालो हिँड्नुपर्छ। उकालो हिँड्न नसक्नेले अरनिको राजमार्गमा पर्ने दोलालघाट बजारका क्लिनिक जानुपर्छ। दोलालघाट पुग्न सुनकोसीको किनारैकिनार दुई घण्टा हिँड्नुपर्छ। वडा कार्यालयसँगैको स्वास्थ्यचौकी उक्लिने र दोलालघाट पुग्ने दुवैतिर सडक त छन्, तर गाडी नियमित चल्दैनन्। मोटरसाइकल भएका परिवारबाहेकले महँगो भाडा तिरेर साधन चढ्नुपर्छ। दोलालघाट–तिमालबेसी ७.३ किमि दूरीमा मोटरसाइकलले भाडा लिएर यात्रु ओसार्छ। यो दूरीमा एकतर्फी भाडा ५०० रुपैयाँ पर्छ।

स्थानीय सरस्वती तामाङ भन्छिन्, “यसो हेर्दाखेरी सहरको नजिकै छ यो ठाउँ। तर न गाडीको सुविधा छ, न स्वास्थ्य चौकी छ। रुघाखोकी लाग्दा पनि दोलालघाट नै जानुपर्छ।”

सरस्वती तामाङ र पार्वती तामाङ।

५० किलोमिटर दूरीमा भए पनि कच्ची र अप्ठेरो बाटोका कारण तिमालबेसीबाट काठमाडौँ जान दिनभर लाग्ने गरेको तिमालबेसीस्थित गंगा प्राथमिक विद्यालयकी शिक्षक जुनु आचार्यको अनुभव छ। “बर्खामासमा बाटो बिग्रिएको बेला भाडाका बाइक पनि चल्दैनन्, गाडी चढ्ने ठाउँसम्म हिँडेर पुग्नुपर्छ। कहिलेकाहीँ त तिमालबेसीबाट बिहान निस्किँदा बेलुकी मात्रै काठमाडौँ पुगिन्छ,” उनी भन्छिन्।

शिक्षा, स्वास्थ्य र सडकजस्ता आधारभूत सुविधाकै अभावका कारण धेरैजसो तिमालवासीले बस्ती छोडिसकेका छन्।

पलान्चोक भगवतीबाट पाँचखाल नगरपालिका–१३ को वडा कार्यालयसम्मको सडक २०२४ सालमै निर्माण गरिएको थियो। यसलाई २०४८ सालमा स्तरोन्नति गरिएको थियो। वडा कार्यालयदेखि भने पक्की बनाइएको यो सडक भएर काठमाडौँ जान सकिन्छ। दोलालघाटतिरको सडक भने २०७५ सालमा निर्माण गरिएको थियो। यो रुट पहिले गोरेटो र भिरैभिरको जोखिमपूर्ण थियो। दोलालघाट निस्किने छिटो रुटका लागि सडक विस्तार गरिएको भए पनि नियमित गाडी नचल्दा तिमालबेसीका बासिन्दाले सुबिस्ता महसुस गर्न पाएका छैनन्। सुनकोसीमा सञ्चालनमा रहेका क्रसरबाट निर्माण सामग्री ढुवानीका लागि चल्ने टिपरहरूले सडक बिगार्ने गरेकाले मोटरसाइकलको यात्रा जोखिमपूर्ण हुन्छ।

२०७५ सालमा ट्र्याक खोलिएको दोलालघाट–तिमालबेसी सडकखण्ड। 

शिक्षा, स्वास्थ्य र सडकजस्ता आधारभूत सुविधाकै अभावका कारण धेरैजसो तिमालवासीले बस्ती छोडिसकेका छन्। सम्पन्न परिवार काठमाडौँमा घर बनाएर सरेका छन्। कतिपयले पाँचखाल बजारमा कोठा लिएर त धेरैले काठमाडौँमा डेरा बसेर मजदुरी गर्ने, छोराछोरी पढाउने र गुजारा चलाउने गर्छन्। वडा नम्बर १३ का वडाध्यक्ष सुकुवीर तामाङका अनुसार तिमालबेसीमा २०० घरधुरी छन्। ३० वटाजति घरमा ताला लागिसकेको उनी बताउँछन्। “प्राय: घरमा कुरुवाका रूपमा वृद्धवृद्धा मात्रै छन्। सबै सदस्य भएको घरधुरी भेट्न मुस्किल छ,” उनी भन्छन्।

युवा पुस्ता वैदेशिक रोजगारीमा छ। स्थानीय निमा तामाङकी माइली छोरी विदेश गएको दुई वर्ष भयो। उनी भन्छिन्, “खान त फलाएर खाइन्छ। नुनतेल, लुगाकपडा किन्न त पैसै चाइयो, कोही न कोहीले त कमाउनैपर्‍यो नि।”

संघीय राजधानीनजिकैको बस्तीमा गुणस्तरीय शिक्षा, स्वास्थ्य र यातायातकै असुविधा हुनुले सहरलाई नै गिज्याइरहेको छ।

सरिताका श्रीमान् सुरेश तामाङ पनि परिवारलाई बेसीमा झारेर तीन वर्षदेखि रोजगारीका लागि पोल्यान्डमा छन्। सरस्वतीकी छोरी दुबई गएको एक वर्ष भयो।

वडाध्यक्ष तामाङ तिमालबेसीमा पहिलेको तुलनामा सुविधा विस्तार भइरहेको दाबी गर्छन्। “सहरबाट फुत्त आउँदा पाखा देखिन्छ, त्यही भएर विकट लागेको हो, तर पहिलेभन्दा बाटो र खानेपानीको धेरै सुविधा भइसकेको छ,” उनी भन्छन्।

अक्टोबर २०२५ मा भू-उपग्रह प्रणाली (स्याटेलाइट)मा देखिएको तिमालबेसी। तस्बिर : गुगल अर्थ प्रो

पाँच वर्षअघि सुनकोसीको पानी लिफ्ट गरेर खानेपानीको व्यवस्था गरिएको छ। त्यसअघि सुनकोसीकै पानी ओसारेर खानुपर्थ्यो। तर, केही कुरामा तुलनात्मक सुधार देखिए पनि संघीय राजधानीनजिकैको बस्तीमा गुणस्तरीय शिक्षा, स्वास्थ्य र यातायातकै असुविधा हुनुले सहरलाई नै गिज्याइरहेको छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category