मकवानपुर -१ मा महालक्ष्मी उपाध्यायको दाबी- ‘चुनौती पार गर्दै जित सुनिश्चित गर्छु’
मकवानपुर । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्यायले पुरुषप्रधान समाजमा चुनाव लड्नु चुनौतीपूर्ण भए पनि आफूले ती सबै चुनौती पार गर्दै अघि बढेको बताएकी छन् ।
चुनावी भेटघाटका क्रममा बोल्दै उपाध्यायले अहिलेसम्मको आफ्नो राजनीतिक यात्रालाई संघर्षपूर्ण तर आत्मविश्वासले भरिएको बताइन् । ‘चुनौतीहरू पार गर्दै यहाँसम्म आइपुगेकी छु, अब बाँकी चुनौती पनि पार गरेर अघि बढ्छु,’ उनले भनिन् । उनका अनुसार प्रतिस्पर्धामा रहेका सबै राजनीतिक दलले आ–आफ्नो मोडेल र एजेन्डा प्रस्तुत गरिरहेका छन् ।
तर नेपाली कांग्रेसले विगतदेखि नै देश, लोकतन्त्र र संविधानको संरक्षणमा खेलेको भूमिकालाई आधार बनाएर फरक ढंगले मतदातामाझ प्रस्तुत भइरहेको उनले उल्लेख गरिन् । उनले भनिन्, ‘देशलाई संकटबाट जोगाउने, लोकतन्त्र र संविधानको रक्षा गर्ने कार्यमा नेपाली कांग्रेस अग्रपंक्तिमा रहँदै आएको छ। अब ती उपलब्धिहरूलाई अझ व्यवस्थित र सुदृढ बनाउँदै मुलुकलाई रूपान्तरण गर्ने लक्ष्य हाम्रो हो ।’
उपाध्यायले नेपाली कांग्रेसलाई सबै वर्ग, समुदाय र मुद्दालाई समेट्न सक्ने मूलधारको पार्टीका रूपमा चित्रित गर्दै आम मतदाताले अन्ततः सही निर्णय गर्ने विश्वास व्यक्त गरिन् । ‘मतदाताले समग्र विषयलाई समेट्न सक्ने शक्तिका रूपमा नेपाली कांग्रेसलाई हेर्नु भएको छ,’ उनले भनिन् ।
महिला मतदाताबाट आफूले विशेष साथ पाएको दाबी गर्दै उपाध्यायले नेपालको संविधानलाई महिला मैत्री बनाउन र महिला अधिकार सुनिश्चित गर्न आफूले खेलेको भूमिकालाई मतदाताले मूल्यांकन गरिरहेको बताइन् ।
‘संविधानमा सुनिश्चित गरिएका महिला अधिकारको संरक्षण र कार्यान्वयनका लागि मैले निरन्तर आवाज उठाउँदै आएको छु । त्यसको न्याय मतदाताले गर्ने विश्वास लिएको छु,’ उनले भनिन् । उपाध्यायका अनुसार महिला सशक्तीकरण, समान अधिकार र समावेशी सहभागिता नै आफ्नो चुनावी अभियानको मुख्य आधार हो । पुरुषप्रधान संरचनाभित्र प्रतिस्पर्धा गर्नुपरे पनि महिला नेतृत्वलाई स्थापित गर्ने संकल्पका साथ आफू अघि बढेको उनले स्पष्ट पारिन् ।