KHASOKHAS
‘ल्यापटप फार्म’ मार्फत अमेरिकी कम्पनीहरूमा उत्तर कोरियाली घुसपैठ, दुई बिचौलियालाई जेल
गोप्य ठगी योजनामा संलग्न भएको आरोपमा दुई जना अमेरिकी नागरिकलाई जेल सजाय सुनाइएको छ। अमेरिकी न्याय मन्त्रालयले दिएको जानकारीअनुसार, उक्त योजनामार्फत ठूला अमेरिकी कम्पनीहरूलाई ठगी गरी उत्तर कोरियाली शासनका लागि करिब ५० लाख डलर आम्दानी गराएको आरोप ती अमेरिकी नागरिकमाथि लगाइएको छ।
न्यु जर्सीका ३९ वर्षीय झेनशिङ “ड्यानी” वाङ र ४२ वर्षीय केजिया “टोनी” वाङलाई यस योजनाका बिचौलियाका रूपमा आरोपित गरिएको छ। उनीहरूले विभिन्न ‘फर्च्युन ५००’ कम्पनीहरूलाई झुक्याएर विदेशमा रहेका प्रविधि (टेक) कामदारहरूलाई जागिर दिलाउने काम गरेका थिए। ती कामदारहरूले अमेरिकी नागरिकहरूको पहिचान चोरी गरेर काम गर्ने गरेको अभियोग छ।
बोस्टनस्थित संघीय अदालतले झेनशिङ वाङलाई ७ वर्षभन्दा बढी र केजिया वाङलाई ९ वर्ष जेल सजाय सुनाएको छ। यस योजनाको मुख्य हिस्सा “ल्यापटप फार्म” थियो, जसमा अमेरिकी कम्पनीहरूले उपलब्ध गराएका कम्प्युटरहरू उनीहरूले आफ्नै घरबाट सञ्चालन गरेका थिए।
ती कम्प्युटरमार्फत विदेशी प्रविधि कामदारहरूले अमेरिकी कम्पनीहरूमा पहुँच प्राप्त गरी तलब बुझेका थिए। एक घटनामा क्यालिफोर्नियास्थित रक्षा ठेकेदार कम्पनीबाट संवेदनशील तथ्याङ्क (डाटा) समेत चोरी गरिएको थियो।
अभियोजकका अनुसार, म्यासाचुसेट्सको एक सेमिकन्डक्टर वितरक कम्पनी र क्यालिफोर्नियाको एक सफ्टवेयर विकास कम्पनीले पनि अनजानमै ती कामदारहरूलाई भुक्तानी गरेका थिए। अमेरिकी अधिकारीहरूका अनुसार, उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न र आफ्नो आणविक हतियार कार्यक्रमका लागि रकम जुटाउन यस्ता योजनाहरू बढ्दो रूपमा प्रयोग गरिरहेको छ।
सन् २०२४ मा पनि यस्तै योजनामा संलग्न एक महिलामाथि मुद्दा चलाइएको थियो, जसमा ६० जना अमेरिकीको पहिचान दुरुपयोग भएको र ३०० कम्पनीहरू प्रभावित भएको बताइएको थियो। उत्तर कोरियाले पछिल्ला वर्षहरूमा क्रिप्टोकरेन्सी एक्सचेन्ज ह्याक गरेर र प्रविधि कामदारमार्फत अमेरिकी कम्पनीहरूमा घुसपैठ गरी अर्बौँ डलर चोरी गरेको अमेरिकी अधिकारी तथा विज्ञहरूले बताएका छन्।
अमेरिकी सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न प्रयास गरिरहेको छ र देशभरका कम्पनीहरूलाई उत्तर कोरियाली आईटी कामदारबाट उत्पन्न खतराबारे सचेत गराइरहेको छ। अमेरिकी विदेश मन्त्रालयले यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूबारे सूचना दिनेलाई ५० लाख डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ।
वाङद्वयले यसअघि नै आफूविरुद्ध लगाइएका आरोपहरू स्वीकार गरिसकेका थिए। उनीहरूले न्यु जर्सीमा नक्कली कम्पनी स्थापना गरेर विदेशी कामदारहरूलाई अमेरिकामा काम गर्ने अनुमति प्राप्त भएको झुटो दाबी गर्ने गरेका थिए।
सुरक्षा अनुसन्धानकर्ता माइकल बार्नहार्टका अनुसार, उत्तर कोरियाली प्रविधि कामदारहरूले आफूलाई वैध कर्मचारीका रूपमा देखाउन अमेरिकी कम्पनी र ठेगानाहरू प्रयोग गर्ने गरेका छन्।