npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

इमरान खानलाई जेलमै सडाउने तयारी

अनलाइन टीभी नेपाल 11 hours ago

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना–२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि देशव्यापी प्रदर्शनको तयारी गर्न आह्वान गरेका छन् । उनले फैसलाविरुद्ध इस्लामाबाद उच्च अदालतमा चुनौती दिने बताएका छन् ।

हाल हिरासतमा रहेका तथा सामाजिक सञ्जालमा प्रत्यक्ष पहुँचमा नरहेका खानले आफ्नो कानूनी टोलीमार्फत सन्देश पठाउँदै खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई सामूहिक सडक आन्दोलनको तयारी सुरु गर्न निर्देशन दिएका हुन् । इमरान खानले अदालतको फैसलाले आफूलाई आश्चर्यचकित नगरेको बताउँदै यसलाई विगत तीन वर्षयता आइरहेका ‘आधारहीन निर्णयहरूको निरन्तरता’ भएको दाबी गरेका छन् ।

उनका अनुसार न्यायाधीशले प्रमाणबिना र कानूनी प्रक्रिया पूरा नगरी हतारमा फैसला सुनाएको र आफ्नो कानूनी टोलीको कुरासमेत नसुन्ने व्यवहार गरिएको उनले आरोप लगाएका छन् । पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई)ले आधिकारिक विज्ञप्ति जारी गर्दै फैसलालाई स्पष्ट रूपमा असंवैधानिक, अवैध, दुर्भावनापूर्ण र राजनीतिक प्रतिशोधको चरम रूप भनेको छ ।

पार्टीका नेताहरूले यो सजाय खानको जेल अवधि लम्ब्याउने र राजनीतिक दबाब कमजोर पार्ने उद्देश्यले गरिएको आरोप लगाएका छन् । पिटिआईका महासचिव सलमान अकरम राजाले वरिष्ठ नेता असद कैसरसँग संयुक्त पत्रकार सम्मेलन गर्दै इमरान खानले अदालत कक्षमै आफ्ना प्रमुख वकिल ब्यारिस्टर सलमान सफदरमार्फत राष्ट्रका लागि सन्देश दिएको जानकारी गराए । तोसाखाना–२ मुद्दामा सजाय सुनाइएपछि देशभर सार्वजनिक बहस चर्किएको छ र न्यायिक प्रक्रियाको विश्वसनीयतामाथि प्रश्न उठेका छन् ।

एएनआईसँग कुराकानी गर्दै लाहोर र पेशावरका बासिन्दा तथा पत्रकारहरूले यस फैसलामा राजनीतिक प्रेरणा र प्रमाणको कमी रहेको टिप्पणी गरेका छन् । लाहोर निवासी हमिद रियाज डोगरले न्यायपालिकाप्रति जनविश्वास घट्दै गएको बताउँदै हालैका अन्य फैसलाहरू पनि विवादित भएको उल्लेख गरे । यो मुद्दा साउदी क्राउन प्रिन्सबाट प्राप्त करिब सात करोड १० लाख पाकिस्तानी रुपैयाँभन्दा बढी मूल्यको बुल्गारी गहना सेटको अवमूल्यनसँग सम्बन्धित रहेको छ ।

Read more news from Online Tv Nepal

Explore by Source or Category